काठमाडौं: दोस्रो संस्करणको जयकुमारनाथ शाह मेमोरियल इन्टर स्कुल क्रिकेट प्रतियोगिता’ यही वैशाख २२ गतेदेखि काठमाडौंमा हुने भएको छ । काठमाडौं जिल्ला क्रिकेट संघको आयोजना हुने प्रतियोगितामा २१ वटा स्कुलको सहभागिता रहनेछ ।
प्रतियोगिता सञ्चालनका लागि १६ लाख ३५ हजार खर्च हुने अनुमान रहेको छ ।
जसमा विजेता टोलीले एकलाख ५० हजार,उपविजेता टोलीले ७५ हजार पुरस्कार पाउनेछ ।
प्रतियोगिताको उत्कृष्ट खेलाडीले दश हजार, उत्कृष्ट बलर, ब्याटर, इमर्जिङ खेलाडीः जनही पाँच हजार र प्रत्येक खेलका प्लेयर अफ द म्याचलाई एकहजार पुरस्कार दिइनेछ ।
वैशाख २९ गतेसम्म सञ्चालन हुने प्रतियोगिताका खेलहरु तल्लो मुलपानी,माथिल्लो मुलपानी र त्रिवि मैदानमा हुनेछन् ।
बाबु एडभेन्चर प्याराग्लाइडिङ प्रा.लि. मुख्य प्रायोजक र आयुष इन्टरनेसनल ओभरसिज सर्भिस सह–प्रायोजक रहेको प्रतियोगितामा सहभागी टोलीलार्ई ७ समूहमा विभाजन गरिएको छ ।
समूह विजेता सात टोली र एक उत्कृष्ट दोस्रो टोली क्वार्टरफाइनलमा पुग्नेछन् । प्रतियोगिताका कुल २८ खेल संचालन हुने छन्, जस मध्य सेमिफाइनल र फाइनल खेल काष्ठमण्डप टेलिभिजनबाट प्रत्यक्ष प्रशारण हुनेछ ।
ग्रासरुट क्रिकेटको विकासमा सक्रिय योगदान दिँदै आएको काठमाडौं जिल्ला क्रिकेट संघले यस वर्ष पनि ‘जयकुमारनाथ शाह मेमोरियल इन्टर स्कुल क्रिकेट प्रतियोगिता’ को दोस्रो संस्करण आयोजना गर्न लागेको हो ।
नेपाल क्रिकेटको विकासमा अतुलनीय योगदान दिनु भएका नेपाल क्किेट संघ(क्यान)का पूर्बअध्यक्ष तथा नेपाली क्रिकेटका भिष्मपितामहको उपनामले परिचित जयकुमारनाथ शाहको सम्झनामा स्कुलस्तरीय प्रतियोगिता सञ्चालन हुने जनाएको छ ।
प्रतियोगिताले यस वर्षको एसिसी मेन्स यू–१६ इस्ट जोन कप २०२५ को छनोटमा सहयोग पुग्ने विश्वास गरिएको छ ।
यस प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीहरुलाई काठमाडौं जिल्लाको टोलीमा स्थान दिँदै नेपालको राष्ट्रिय यू–१६ टोलीको छनोटका लागि अवसर दिइनेछ।
