काठमाडौं:सन्दीप लामिछानेको कप्तानीमा रहेको नेपाल रेडले कोर क्याप अभ्यास खेलमा लगातार तेस्रो जित निकालेको छ।
बुधबार सम्पन्न खेलमा रेडले नेपाल ब्ल्युलाई एक विकेटले पराजित गरेको हो।
जारी प्रतियोगितामा रेडको यो लगातार तेस्रो जित हो। यसअघि रेडले नेपाल ब्ल्युलाई १९९ रनले पराजित गरेको थियो।
यल्लोमाथि भने आठ विकेटको सानादर जित निकालेको थियो।
ब्ल्युले दिएको २०९ रनको लक्ष्य रेडले एक बल बाँकी रहँदा नौ विकेट गुमाउँदै पूरा गरेको हो। रेडका भीम सार्कीले अर्धशतक प्रहार गरे। ६९ बल खेलेका उनले ६ चौकासहित ५८ रन बनाएका हुन्। अर्जुन साउद ३६, त्रितराज दास ३१, प्रतीश जिसी १७ र शुभ कंशकार १५ रनमा आउट हुँदा कप्तान सन्दीप १९ रनमा अविजित रहे।
ब्ल्युका दीपेशप्रसाद कँडेल र युवराज खत्रीले समान तीन विकेट लिए। गुल्शनकुमार झा र सूर्य तामाङको नाममा समान एक विकेट रह्यो।
त्यसअघि तल्लो मूलपानी क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ थालेको ब्ल्युले ४७.४ ओभरमा सबै विकेट गुमाउँदै २०८ रन बनाएको थियो।
ब्ल्यु ओपनर अनिलकुमार साहले सर्वाधिक ४१ रन बनाए। ६१ बल खेलेका उनले चार चौका प्रहार गरे।
देव खनाल ३६, कप्तान रोहितकुमार पौडेल ३५, शकिब हक ३२, सूर्य तामाङ १९, प्रजज्वल थापा १३ र कुशल मल्ल ११ रनमा आउट भए।
रेडका आकाश चन्दले सर्वाधिक चार विकेट लिए। नौ ओभर बलिङ गरेका उनले ३२ रन खर्चिए। शहाब आलम र सन्दीपको नाममा समान दुई र नरेन भट्टको नाममा एक विकेट रह्यो।
यस्तै नेपाल यल्लोले दोस्रो जित निकालेको छ। कप्तान दीपेन्द्रसिंह ऐरीको अविजित ४२ रनसँगै यल्लोले ग्रिनलाई पाँच विकेटले पराजित गरेको हो।
यल्लोको अभ्यास खेलमा दोस्रो जित हो। दुवै खेलमा यल्लोले ग्रिनलाई पराजित गरेको हो। यसअघि नेपाल रेडसँग आठ विकेटले पराजित भएको थियो। त्यस्तै, ग्रिनमाथि भने १७ रनको जित हात पारेको थियो।
ग्रिनले दिएको ९६ रनको लक्ष्य पछ्याएको यल्लोले १७.५ ओभरमा पाँच विकेट गुमाउँदै ९८ रन बनायो। यल्लोका दीपेन्द्रले अविजित रहँदै सर्वाधिक ४२ रन बनाए। ३६ बल खेलेका उनले आठ चौका प्रहार गरे।
किरण ठगुन्नाले २८ बलमा तीन चौका र एक छक्कासहित २९ रन बनाए। ग्रिनका सोमपाल कामीले सर्वाधिक तीन विकेट लिए। नौ ओभर बलिङ गरेका उनले एक मेडनसहित ५१ रन खर्चिए।
रिजन ढकालले दुई विकेट हात पारे। त्यसअघि माथिल्लो मूलपानी क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङ थालेको ग्रिनले २७.२ ओभरमा सबै विकेट गुमाउँदै ९५ रन बनाएको थियो।
ग्रिनका अर्जुन कुमालले सर्वाधिक ३० रन बनाए। ३८ बल खेलेका उनले पाँच चौका प्रहार गरे। कप्तान आशिफ शेख २० र पवन सर्राफ १४ रनमा आउट हुँदा अन्य ब्याटरले दोहोरो अंकमा रन बटुल्न सकेनन्।
यल्लोका विशाल पटेल र अभिनाश बोहोराले समान तीन विकेट लिए। कमलसिंह ऐरी र रुपेश सिंहको नाममा दुई/दुई विकेट रह्यो।
