बैतडी: शिक्षकहरुको आन्दोलनका कारण बैतडीका चार स्थानीय तहमा परीक्षा भएको छ ।
यहाँको दोगडाकेदार गाउँपालिका,पाटन, दशरथचन्द र मेलौली नगरपालिकाले सञ्चालन गर्ने तयारी गरेको आधारभुत तहको ग्रेडवृद्धि परीक्षा स्थगित गरेका हुन् ।
दशरथचन्द नगरपालिकामा वैशाख १५ र १६ गतेका लागि तय भएको कक्षा ८ को पुनर्योग र गे्रडवृद्धि परीक्षा स्थगित गरिएको दशरथचन्द नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नवीनचन्द्र पाण्डेय जानकारी दिनुभयो ।
शिक्षक महासंघको आन्दोलनका कारण परीक्षा प्रभावित हुने देखिएकाले अर्काे सूचना प्रकाशित नभएसम्मका लागि स्थगित गरिएको जनाएको छ ।
मेलौली नगरपालिकाले पनि एक सूचना जारी गर्दै यहि वैशाख १५ र १६ गते सञ्चालन गर्ने भनिएको आधारभुत तह कक्षा ८ को पुनर्योग र ग्रेडवृद्धि परीक्षा स्थगित गरिएको जनाएको छ । शिक्षक महासंघको आन्दोलनका कारण अर्काे सूचना प्रकाशित नगर्दा सम्म परीक्षा स्थगित गरिएको निमीत्त प्रमुख प्रशासकीय अधिकृत जगदिशप्रसाद भट्टद्वारा जारी सूचनामा उल्लेख गरिएको छ ।
पाटनले वैशाख १२ र १३ गते सञ्चालन गर्ने भनिएको ग्रेडवृद्धि परीक्षा स्थगित गरिएको जनाएको छ ।
यस्तै शिक्षक महासंघको आन्दोलनका कारण जिल्लाको दोगडाकेदार गाउँपालिकाले पनि आधारभुत तह कक्षा ५ र कक्षा ८ को ग्रेडवृद्धिका परीक्षा स्थगित गरेको छ ।
शैक्षिक सत्र २०८१ का लागि कक्षा ५ र कक्षा ८ को ग्रेडवृद्धि परीक्षा वैशाख १२ गतेदेखी सञ्चालन गर्ने भनिएको भएपनि शिक्षकहरुको आन्दोलनका कारण अर्काे सूचना जारी नहुदाँ सम्मका लागि स्थगित गरिएको दोगडाकेदार गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नन्दराज जोशीले बताउनुभयो ।
आन्दोलनका कारण परीक्षाका साथै नयाँ शैक्षिक सत्रका सम्पूर्ण गतिविधिहरु समेत प्रभावित बनेका छन् ।
विद्यालय शिक्षा ऐन जारी गर्न ढिलाइ भएको भन्दै देशभरका शिक्षकहरूले काठमाडौंमा तीन हप्तादेखि अनिश्चितकालिन सडक आन्दोलनमा रहेका छन् ।
शिक्षा ऐनमा यसअघि शिक्षकहरूसँग भएका सहमतिका बुँदाहरूलाई समावेश गर्नुपर्ने आन्दोलनरत शिक्षक कर्मचारीहरूको माग छ ।
