असिनाले गहुँबाली र तरकारीमा व्यापक क्षति

बैतडी: वर्षासंगै परेको असिनाले सुदूरपश्चिम प्रदेशमा बालीनाली र तरकारीमा व्यापक क्षति पुगेको छ ।

शनिबार अपरान्ह परेको असिनापानीले पाक्न लागेको गहुँबाली,तरकारी र बेर्नामा व्यापक क्षती पुगेको किसानहरुले बताएका छन् ।

जिल्लाको दोगडाकेदार,सिगास, सुर्नया गाउँपालिका र पाटन नगरपालिकाका विभिन्न क्षेत्रमा परेको वर्षासंगैको असिनाले तरकारी, फलफूल र अन्नबालीमा क्षति र्पुयाएको हो ।

बैतडीका साथै सुदूरपश्चिम प्रदेशका अन्य जिल्लाहरुमा पनि असिनापानीले अन्नबाली र तरकारी नष्ट गरेको छ ।

अन्नबाली भित्र्याउने समयमा परेको असिनाले पाक्नै लागेको गहुँबालीमा व्यापक क्षति पुर्याएको सिगास गाउँपालिका ९ का रामबहादुर चन्दले जानकारी दिनुभयो ।असिनाले खेतबारी पुरै सेताम्मे भएका छन् ।
उहाँले भन्नुभयो,“गहुँ पाकेर भित्र्याउने तयारी भएको थियो,असिनापानीले सबै नष्ट गरेको छ ।”

असिनाले गहुँबालीका तरकारी नष्ट गरेको दोगडाकेदार ६ सित्तडका दलबहादुर कार्कीले बताउनुभयो ।

फलफूल,आलु, प्याज, लसुन तथा खुर्सानी र बन्दा, काउली , टमाटरका बेर्ना पनि नष्ट गरेको छ ।

उहाँले भन्नुभयो,“ पाक्न थालेको बालीनाली र तरकारी असिनापानीले सबै नष्ट पारेपछि उत्पादनमा कमी आउने देखिएको छ । किसानहरु चिन्तित भएका छन् ।”

असिनापानीले अन्नबाली र तरकारीमा व्यापक क्षति गरेपछि उत्पादनमा कमी आउने देखिएको छ । यसले खाद्यसंकट निम्तिने जोखिम बढेको छ ।

कृषि ज्ञान केन्द्र बैतडीले क्षतिको एकिन विवरण आउन नसकेपनि अन्नबाली र तरकारी असिनाले व्यापक रुपमा नष्ट गरेको जनाएको छ ।

Leave A Reply

Your email address will not be published.

error: Content is protected !!