बैतडी: बैतडीको पुर्चौडी नगरपालिकामा पहिलोपटक जिल्लास्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता हुने भएको छ ।
जिल्ला खेलकुद समितिको आयोजना र पुर्चौडी नगरपालिकाको सहआयोजनामा सञ्चालन हुने प्रतियोगिता वैशाख ३ देखि ५ गतेसम्म कमल विशाल पार्क खेलमैदानमा हुनेछ ।
पुर्चौडीमा हुन लागेको यो १५ औं संस्करणको जिल्लास्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता हो । दुर्गम मानिएको पुर्चौडीमा पहिलोपटक जिल्लास्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता हुने लागेको जिल्ला खेलकुद समितिका अध्यक्ष चमन कुमार भण्डारीले बताउनुभयो ।
यसअघि जिल्लाका अन्य स्थानीय तहमा हुँदै आएको प्रतियोगिता पहिलोपटक पुर्चौडीमा आयोजना हुन लागेको हो ।
उहाँले भन्नुभयो,“ पहिलोपटक पुर्चौडीमा जिल्लास्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता हुने लागेको छ । पुर्चौडीबासीका लागि यो गौरबको विषय हो । घरेलु मैदानमै जिल्लास्तरीय प्रतियोगिता खेल्न पाउनु स्थानीय खेलाडीलाई फाइदा पनि पुग्छ ।”
खेलकुद क्षेत्रलाई प्राथमिकतामा राखेको बताउँदै पुर्चौडी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत जगदीशप्रसाद जोशीले जिल्लास्तरीय राष्ट्रपति रनिङ शिल्डको तयारी तिब्र बनाइएको बताउनुभयो ।
खेलमैदान व्यवस्थित बनाउने र खेलाडीहरु आफ्नो तयारीमा जुटेका उहाँले बताउनुभयो ।
खेलाडीले घरेलु मैदानमै खेल्न पाउन भन्ने उद्देश्यले जिल्लास्तरीय राष्ट्रपति रनिङ शिल्डको आयोजना गरिएको पुर्चौडी नगरपालिकाका प्रमुख दीपकबहादुर बमले बताउनुभयो ।
उहाँले भन्नुभयो,“ खेलकुद क्षेत्र नगरपालिकाको प्राथमिकतामा छ। जिल्लास्तरीय प्रतियोगिता गर्न पुर्चौडी नगरपालिका पनि सक्षम छ भन्ने उदाहरण यो प्रतियोगिता दिएको छ ।घरमै जिल्लास्तरीय प्रतियोगिता खेल्न पाउनु यहाँका खेलाडीहरुका लागि गौरवको कुरा हो ।”
प्रतियोगितामा जिल्लाका १० वटै स्थानीय तहहरुको सहभागिता रहनेछ । पालिकास्तरबाट छनौट भएका खेलाडीले जिल्लास्तरीय प्रतियोगितामा सहभागिता जनाउन पाउने जिल्ला खेलकुद समितिका कार्यालय प्रमुख तर्कराज जोशीले जानकारी दिनुभयो ।
स्थानीय तहहरुमा रहेका माध्यमिक विद्यालयहरुमा अध्ययनरत १८ वर्षमुनीका विद्यार्थीका लागि प्रतियोगिता आयोजना गरिएको हो । प्रतियोगितामा भलिबल, कबड्डी, एथ्लेटिक्स, कराँतेलगातयका खेलहरु खेलाइनेछन् ।
जिल्लास्तरीय रनिङ्ग शिल्ड प्रतियोगितामा पालिकास्तरीय छनौट प्रतियोगिताबाट छनौट भएका खेलाडी सहभागी हुन पाउने र एक खेलाडीले एक विधामा मात्र भाग लिन पाउने जनाएको छ ।
जिल्लास्तरीय रनिङ्ग शिल्ड प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडी प्रदेशस्तरीय रनिङ्ग शिल्डका लागि छनौट हुनेछन् ।
गत वर्ष मेलौलीमा सम्पन्न १४ औं जिल्लास्तरीय रनिङ्ग शिल्ड प्रतियोगितामा मेलौली नगरपालिका प्रथम भएको थियो ।
