काठमाडौँ : विश्व खेलकुदको महाकुम्भ ओलम्पिक गेम्समा क्रिकेट पनि समावेश हुने भएको छ।
अन्तरराष्ट्रिय ओलम्पिक कमिटी (आईओसी) ले सन् २०२८ मा आयोजना हुने ओलम्पिक गेम्समा क्रिकेटलाई समावेश गर्ने भएको हो।
ओलम्पिकमा क्रिकेट खेल १२८ वर्षपछि फेरि समावेश हुन लागेको हो। यसअघि सन् १९०० मा पेरिसमा आयोजना गरिएको ओलम्पिक खेलमा क्रिकेट पहिलो पटक समावेश गरिएको थियो।
आईओसीले सन् २०२८ मा अमेरिकामा हुने ओलम्पिकमा टी–२० फर्म्याटको क्रिकेट आयोजना गर्न लागेको हो। लस एन्जलस ओलम्पिकमा क्रिकेटतर्फ ६ टोलीले प्रतिष्पर्धा गर्ने आईओसीले जनाएको छ।
ओलम्पिकमा खेल्ने टोलीको टुंगो अन्तरराष्ट्रिय टी–२० वरीयताको आधारमा हुनेछ। नेपाल भने वरीयतामा पछि रहेकाले सहभागी हुन पाउनेछैन।
प्रत्येक टोलीमा १५ खेलाडी समावेश हुनेछन्।
