मुम्बईकाे ह्याट्रिक हार,लखनउ १२ रनले विजयी

काठमाडौं: मुम्बई इन्डियन्सले इन्डियन प्रिमियर लिग (आइपिएल) मा लगातार तेस्रो हार बेहोरेको छ।

शुक्रबार सम्पन्न खेलमा लखनउ सुपर जायन्ट्ससँग मुम्बई १२ रनले पराजित भएको हो। यो नतिजासँगै लखनउ चार खेलबाट चार अंक जोड्दै छैटौं स्थानमा उक्लिएको छ। दुई अंकमा सीमित मुम्बई भने सातौं स्थानमा छ।

मुम्बईका सूर्यकुमार यादवले सर्वाधिक ६७ रन बनाए। ४३ बल खेलेका उनले नौ चौका र एक छक्का प्रहार गरे।

नमन धीरले २४ बलमा चार चौका र तीन छक्कासहित ४६ रन बनाए। तिलब बर्मा २५ रनमा आउट हुँदा कप्तान हार्दिक २८ रनमा अविजित रहे। उनले १६ बलमा दुई चौका र एक छक्का प्रहार गरे पनि फिनिसिरको भूमिका खेल्न सकेनन्।

लखनउका सर्दूल ठाकुर, आकाश दीप, आवेश खान र दीग्भेष राठीले समान एक विकेट लिए।

त्यसअघि भारतरत्न श्री अटल बिहारी क्रिकेट रंगशालामा टस हारेर पहिला ब्याटिङ थालेको लखनउले निर्धारित २० ओभरमा आठ विकेट गुमाउँदै २०३ रन बनाएको हो। 

लखनउका मिचेल मार्शले सर्वाधिक ६० रन बनाए। ३१ बल खेलेका उनले नौ चौका र दुई छक्का प्रहार गरे। एडेन माक्ररामले ३८ बलमा दुई चौका र चार छक्कासहित ५३ रन बनाए।

आयुष बडानी ३०, डेभिड मिलर २७ र निकोलस पुरन १२ रनमा आउट हुँदा अन्य ब्याटर चल्न सकेनन्।

मुम्बईका कप्तान हार्दिकले सर्वाधिक पाँच विकेट लिए। चार ओभर बलिङ गरेका उनले ३६ रन खर्चिए। ट्रेन्ट बोल्ट, अश्विन कुमार र विग्नेस पथुरको नाममा समान एक विकेट रह्यो।

Leave A Reply

Your email address will not be published.

error: Content is protected !!