काठमाडौं: प्रभसिमरन सिंह र कप्तान श्रेयस अय्यरले अर्धशतक बनाएपछि पञ्जाब किङ्सले इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा लगातार दोस्रो जित हासिल गरेको छ ।
मंगलबार भएको खेलमा लखनउ सुपर जायन्ट्सलाई ८ विकेटले हराउँदै पञ्जाबले दोस्रो जित निकालेको हो । लखनउले दिएको १७२ रनको लक्ष्य पञ्जाबले १६.२ ओभरमा २ विकेटको क्षतिमा भेट्टायो ।
पञ्जाबका लागि प्रभसिमरन सिंहले विस्फोटक अर्धशतक बनाए । २३ बलमै अर्धशतक पूरा गरेका उनी ६९ रनमा आउट भए । उनले ९ चौका र ३ छक्का प्रहार गरे ।
त्यस्तै कप्तान श्रेयस अय्यरले अविजित ५२ रनको पारी खेले । नेहाल वधेरा ४३ रनमा अविजित रहे ।
लखउका दिग्वेश राथीले २ विकेट लिनुबाहेक अन्य विकेटविहीन रहे ।
यसअघि घरेलु मैदान भारत रत्न श्री अटलबिहारी भाजपाइ एकान क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको लखनउले निर्धारित २० ओभरमा सात विकेट गुमाउँदै १७१ रनको योगफल तयार पार्यो ।
लखनउका लागि निकाेलस पुरनले ४४, आयुश बदाेनीले ४१, एडियन मार्करमले २८, अब्दुल समादले २७ र डेविड मिलरले १९ रन बनाए ।
चौथो विकेटका लागि निकोलस र आयुशले ५४ रनको साझेदारी गरे । पन्जाबका लागि अर्शदीप सिंहले तीन तथा ग्लेन म्याक्सवेल, लोकी फर्गुसन, मार्को यानसन र युज्वेन्दर चाहलले समान एक विकेट लिए ।
