काठमाडौं: प्रहरीको गोली लागेर काठमाडौंमा एक प्रदर्शनकारीको मृत्यु भएको छ ।
शुक्रबार दिउँसो भएको राजावादीहरूको प्रदर्शनका क्रममा घाइते भएका कीर्तिपुरका २९ वर्षीय सविन महर्जनको महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।
तिनकुने क्षेत्रमा प्रदर्शनका क्रममा घाइते भएका उनलाई तत्काल उपचारका लागि टिचिङ अस्पताल पुर्याइएको थियो । उपचारका क्रममा उनको मृत्यु भएको हो ।
त्रिवि शिक्षण अस्पतालका अनुसार महर्जनको घाँटीमा गोली लागेर छ ।
राजवादीहरुले आज तिनकुने क्षेत्रमा प्रदर्शन गरेका थिए । प्रदर्शनका क्रममा सुरक्षाकर्मीसहित प्रदर्शनकारी घाइते भएका छन् ।
प्रदर्शनले उग्र रुप लिएपछि प्रहरी गोली चलाउन बाध्य भएको गृह मन्त्रालयले जनाएको छ ।
प्रदर्शनकारीले विभिन्न मिडिया हाउस, नीजि घरमा आगजनी गर्नुका साथै लुटपाट समेत गरेको छ ।
उक्त क्षेत्रमा कर्फ्यू लगाउनका साथै नेपाली सेना समेत परिचालन गरिएको छ ।
