दिल्लीसंगको सिरिज नेपालले एक खेल अगावै जित्यो

काठमाडौं: नेपाली यु १९ टोलीले ५० ओभरको अभ्यास सिरिजको १ खेल अगावै उपाधि जितेको छ ।

भारतको दिल्ली यु १९ को टोलीलाई बिहीवार दोस्रो खेलमा १ सय २ रनले हराउँदै नेपाली टोलीले सिरिज जितेको हो । पहिलो अभ्यास खेलमा नेपाल ५ विकेटले विजयी भएको थियो ।

पर्सामा भएको खेलमा नेपालको युवा टोलीले दिएको १ सय ९३ रनको लक्ष्य पछ्याएको दिल्ली ३० दशमलव ४ ओभरमा ९० रनमा समेटियो ।

दिल्लीका लागि इम्प्याक्ट प्लेयरको रुपमा मैदानमा आएका शन्तनु यादवले ५० बलमा ५ चौकासहित ३० रन जोडे ।

एक समय ६१ रनमा २ विकेट गुमाएर सहज अवस्थामा रहेको दिल्लीले २९ रन जोड्दा ८ विकेट गुमायो । नेपालका अपराजित पौडेलले ७ ओभरमा ९ रन खर्चिएर ५ विकेट लिए ।

नितेश पटेलले २ तथा विपिन प्रसाद शर्मा, कप्तान नरेन भट्ट र अशोक धामीले समान १ विकेट लिए ।

त्यसअघि विरगंजस्थित टिबी साह क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर १ सय ९२ रन जोड्न सफल भयो ।

नेपाली युवा टोलीका लागि अभिषेक तिवारीले सर्वाधिक ६० रन जोडे । उनले ८२ बलको सामना गर्दै ५ चौका र ३ छक्का प्रहार गरे ।

सातौं विकेटका लागि कप्तान नरेनसँग अभिषेकले ९९ रनको साझेदारी गरे । नरेन १ सय २५ बलमा ६ चौकाको सहयोगमा ५२ रनमा आउट भए ।

अशोक धामी १९ बलमा १ चौका र २ छक्काको सहयोगमा १९ रनमा आउट भए । ओपनर सोहेल कुवँर ११ रनमा आउट हुँदा नेपाली युवा टोलीका अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउँन सकेनन् ।

दिल्लीका लागि शुभम दुवेले ३, आदित्य भण्डारी, अमन चौधरी र रोनक वागिलाले समान २ विकेट लिए ।

Leave A Reply

Your email address will not be published.

error: Content is protected !!