काठमाडौं: प्रधानमन्त्री कप एक दिवसीय क्रिकेटको समूह चरणको अन्तिम खेलमा त्रिभुवन आर्मी क्लबले नेपाल पुलिस क्लबलाई ४ विकेटले पराजित गरेको छ ।
यसअघि नै शीर्ष २ स्थानमा रहेर फाइनल पुगिसकेका यी दुई टिमबीच समूह चरणको अन्तिम खेलमा विहीबार प्रतिस्पर्धा भएको हो ।
अब उपाधि भिडन्त पनि यी दुईबीच शनिबार हुने छ ।
भैरहवामा भएको खेलमा टस हारेर पहिला ब्याटिङ गरेको नेपाल पुलिस क्लबले ४१.४ ओभरमा सबै विकेट गुमाएर १४८ रन बनाएको थियो । पुलिसका कप्तान दीपेन्द्रसिंह ऐरीले ३७ बलमा ५० रनको अर्धशतकीय पारि खेलेका थिए । उनले २ छक्का र ३ चौका प्रहार गरे । यसैगरी आरिफ शेखले ५२ बलमा २२ रन बनाउँदा २ चौका हिर्काए ।
यस्तै, रशिद खानले १७ तथा सागर ढकालले १६ रन बनाए । अर्जुन साउदको ब्याटबाट १३ रन बनेको थियो । आर्मीका साहव आलमले सर्वाधिक ४ विकेट लिए । उनले १० ओभरको स्पेलमा ३ ओभर मेडन राख्दै ३१ रन दिएका थिए । यसैगरी नरेन साउदले ७ ओभरमा १ ओभर मेडन राखेर १६ रन खर्चिदै ३ विकेट लिए । यस्तै, कुशल मल्ल र भीम सार्कीको नाउँमा एक एक विकेट रह्यो ।
१४९ रनको लक्ष्यसहित मैदान उत्रिएको आर्मीले लक्ष्य पूरा गर्न भने केही चुनौती सामना गर्नु परेको थियो ।
आर्मीका तिर्त राज दाशले २२ बलमा २५ रन बनाउँदा ५ चौका प्रहार गरे । यस्तै, भीम सार्की ६१ बल खेलेर २३ रनको पारिका साथ विदा भएका थिए । यसैगरी सन्तोष कार्कीले ५३ बलमा २२ रन बनाउँदा बसिर अहमद १२ रन जोडेर आउट भए । नरेन साउदले खाता खोल्न नसक्दा इमरान शेखले १ रन बनाए ।
अन्त्यमा विवेक यादव र कप्तान विनोद भण्डारीले नटआउट पारि खेल्दै टिमलाई जिताए ।
बिबेकले ४५ बलमा ४१ रनको पारि खेल्दा विनोदले पनि ३५ बलमा १३ रन बनाए ।
पुलिसका ललित राजवंशीले सर्वाधिक ४ विकेट लिए । उनले १० ओभर बलिङ गर्दा २ ओभर मेडन राख्दै ३४ रन खर्चिए । यसैगरी दीपेन्द्रसिंह ऐरी र करण केसीले एक एक विकेट लिए ।
फाइनल खेल शनिबार हुने छ ।
