बैतडी: बैतडीको दोगडाकेदार गाउँपालिकामा नेपाल टेलिकमको नेटवर्कले काम गर्न छोडेको छ ।
खोचलेकमा रहेको टेलिकमको टावरले विगत केहि महिनादेखि दोगडाकेदारमा काम गर्न छोडेको स्थानीय भोजबहादुर कार्कीले बताउनुभयो ।
नेपाल टेलिकमले यहाँ फोरजी सेवा बिस्तार गरेको थियो तर फोरजी नेटवर्क देखाउने मात्रै काम नगर्ने कार्कीको आरोप छ ।
उहाँले भन्नुभयो,“ मोबाइलमा फोरजी नेटवर्क देखाउछ मात्रै, काम गर्दैन,फोरजी सेवाले काम नगर्दा समस्या हुने गरेको छ ।”
दोगडाकेदार गाउँपालिकाको सदरमुकाम रुपमा समेत रहेको खोचलेकलगायतका बजारहरुमा फोरजी सेवाले काम गर्न छोडेको स्थानीय व्यापारी दीपेन्द्र सिंह कार्कीले बताउनुभयो ।
नेटकर्वले काम नगर्दा गाउँपालिका कार्यालय, क्याम्पस, विद्यालय,अन्यसरकारी तथा गैरसरकारी संघसस्था, सञ्चारमाध्यम, वित्तीय कारोवार गर्ने सहकारी तथा बैंक र स्थानीय तहका वडा कार्यालयमा समेत सेवा प्रवाहमा समस्या आएको छ ।
फोरजी सेवाले काम नगर्दा दोगडाकेदार गाउँपालिका र यहाँका बासिन्दाले एफटीटीएच सेवा ‘एनटी फाइबर’ बिस्तार गर्न माग गरेका छन् । एनटी फाइबर सेवा सस्तो र सुलभ पनि रहेको छ ।
एनटी फाइबर सेवा बिस्तार नहुँदा गाउँपालिकाले महंगो रुपमा नीजि कम्पनीको वाईफाई जडान गरेर काम गर्न बाध्य भएको दोगडाकेदार गाउँपालिकाका सूचना प्रविधि अधिकृत जनकबहादुर विष्टले बताउनुभयो ।
नेपाल टेलिकमको एनटी फाइबर बिस्तारका लागि दोगडाकेदार गाउँपालिकाले पहल गरेको भएपनि कुनै सुनुवाई भएको छैन् ।
उहाँले भन्नुभयो,“नेपाल टेलिकमको फोरजी सेवाले काम नगर्दा हाल महंगो शुल्क तिरेर नीजि कम्पनीको वाईफाई जडान गरेर काम गरिरहेका छौं, एनटी फाइबर सेवा बिस्तार भएपछि उक्त बाध्यता हट्ने थियो ।”
यता नेपाल टेलिकम बैतडीका कार्यालय प्रमुख नारायणदत्त भट्टले भने दोगडाकेदारमा टेलिकमको नेटवर्कमा कुनै समस्या नरहेको दाबी गर्नुभयो ।
सिस्टमले जिल्लाका सबै टावरको अपडेट एक/एक घण्टामा दिने र खोचलेकको टावर नचलेको सिस्टमले देखाएको छैन् ।
उहाँले भन्नुभयो,“ सिस्टममा हेर्दा खोचलेकको टावरमा कुनै समस्या देखाउदैन्। हाम्रो सिस्टमबाट हेर्दा मजासित टुजी र फोरजी सेवा चलिरहेको देखाएको छ ।”