काठमाडौं: १८औं संस्करणकाे इन्डियन प्रिमियर लिग आईपीएल क्रिकेट सुरू भएकाे छ । उद्घाटन खेलमा रोयल च्यालेन्जर्स बेंगलुरुले विजयी सुरुवात गरेको छ ।
शनिबार भएको खेलमा बेंगलुरुले कोलकाता नाइट राइडर्सलाई ७ विकेटले हराएको हो ।
कोलकाताले दिएको १७५ रनको लक्ष्य बेंगलुरुले १६.२ ओभरमा ३ विकेटको क्षतिमा पूरा गर्यो ।
बेंगलुरुकाे जितमा विराट कोहली र फिलिप साल्टले अर्धशतक बनाए।
विराट कोहली ५९ रनमा अविहित रहे भने साल्टले ५६ रन बनाए । रजत पाटिदारले ३४ रन बनाए । लियाम लिभिङस्टोन १५ रनमा अविजित रहे । कोलकाताका वरुण चक्रवर्ती, वैभव अरोरा र सुनिल नरयानले समान १ विकेट लिए ।
त्यसअघि इडेन गार्डेन्समा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको कोलकाताले २० ओभरमा ८ विकेट गुमाएर १७४ रन बनाएको थियो । कप्तान अजिन्क्या रहानेले तथा सुनिल नरायनले ४४ रन बनाए । अंग्क्रिश रघुवंशीले ३० रन बनाए ।
बेंगलुरुका क्रुनाल पाण्ड्याले ४ ओभरमा २९ रन दिएर ३ विकेट लिए । जोश हेजलवूडले २ तथा यश दयाल, सुयाश शर्मा र रसिख सलामले १-१ विकेट लिए ।
आइतबार दुई खेलहरू हुनेछन् । दिउँसो पौने ४ बजे सनराइजर्स हैदराबाद र राजस्थान रोयल्स खेल्ने छन् भने बेलुकी पौने ८ बजे मुम्बई इन्डियन्स र चेन्नई सुपर किङ्स खेल्ने छन् ।
