बैतडी: बैतडीको डिलाशैनी गाउँपालिकामा भेडाबाख्रा र च्याङग्रा ओसारपोसार गर्दा अनिवार्य रुपमा निरोगी प्रमाणित गर्नुपर्ने भएको छ ।
गाउँपालिकाले आज एक सूचना जारी गर्दै महामारी रोग पिपिआर फैलन नदिन आफ्नो भेडाबाख्रा र च्याङग्रा ओसारपोसार गर्दा अनिवार्य रुपमा निरोगी प्रमाणित भएको हुनुपर्ने जनाएको हो ।
पञ्चेश्वर लगायतका क्षेत्रमा बाख्रामा लाग्ने महामारी रोग पिपिआर देखिएकोले त्यसबाट बच्न भेडाबाख्रा र च्याङग्रा ओसारपोसार गर्दा अनिवार्य रुपमा निरोगी प्रमाणित गर्न भनिएको डिलाशैनी गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत शंकरबहादुर साउँदले जानकारी दिनुभयो ।
भेडाबाख्रा र च्याङग्रा ओसारपोसार गर्दा निरोगी प्रमाणित गरेमा महामारी रोग पिपिआर फैलनबाट बच्न डिलाशैनी गाउँपालिकाका अध्यक्ष सन्तोषप्रकाश जोशीले जानकारी दिनुभयो ।
उहाँले भन्नुभयो,“ महामारी रोग पिपिआर फैलनबाट बच्न अनिवार्य रुपमा निरोगी प्रमाणित गर्न भनेका हौं । पालिकाभरीका सबै किसानहरुलाई निरोगी प्रमाणित गरेर मात्र किनबेच गर्न आग्रह गर्छौै । ”
यसअघि पञ्चेश्वर गाउँपालिका वडा नम्बर ६ मा पर्ने बिजुल गाउँमा पिपिआरबाट ५७ बाख्रा मरेका थिए । पिपिआर रोगले एकै गाउँका ५७ बाख्रा मरेपछि पञ्चेश्वर गाउँपालिका र भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र पाटन बैतडीको सयुक्त आयोजनामा पशु स्वास्थ्य शिविर गरेको थियो ।
पशु स्वास्थ्य शिविरका साथै हाल पनि बाख्राहरुलाई पिपिआरविरुद्धको खोप दिने कार्यक्रम नियमित रुपमा सञ्चालनमा रहेको भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र पाटनका प्रमुख गुमानी पन्तले बताउनुभयो ।
उहाँले भन्नुभयो,“प्रभावित क्षेत्रमा पशुस्वास्थ्य शिविरको आयोजना गरेका छौं । यसबाहेक आसपासका गाउँहरुमा नियमित रुपमा खोप दिने कार्य भइरहेको छ । ”
जिल्लाका अन्य स्थानीय तहहरुलाई पनि भेडा बाख्रा ओसारपोसार गर्दा अनिवार्य रुपमा निरोगी प्रमाणित गर्न विज्ञ केन्द्रले आग्रह गरेको छ । बाख्राहरुमा कुनै लक्षण देखिएमा विज्ञ केन्द्र अर्थात पालिकाको पशुसेवाकेन्द्रमा सम्पर्क गर्न समेत सुझाइएको छ ।
पिपिआर रोग भएका बाख्रामा ज्वरो आउने, खोक्ने, रगत छेर्नेलगायतका लक्षण देखिन्छ । यो लक्षण देखिएको एक सातामै बाख्राको मृत्यु हुने गरेको छ।

