मौसम परिवर्तनले गाउँगाउँमा फैलियो भाइरल ज्वरो

बैतडी: मौसममा आएको परिवर्तनसंगै बैतडीका गाउँगाउँमा भाइरल ज्वरोका बिरामी बढेका छन् । यहाँका अस्पताल,स्वास्थ्यसंस्थामा आउने बिरामीमध्ये अधिकांस भाइरल ज्वरोका हुने गरेका स्वास्थ्यकर्मीहरुले बताएका छन् ।

सदरमुकामस्थित जिल्ला अस्पतालमा मात्रै दैनिक ५० जना भन्दा बढी भाइरल ज्वरोका बिरामी उपचारको लागि पुग्ने गरेका छन् । अस्पातालका सूचना अधिकारी हरिश पन्तका अनुसार दैनिक १५० जना उपचारका लागि आउने बिरामीमध्ये सबैभन्दा बढी भाइरल ज्वरोका बिरामी रहेका छन् ।
उहाँले भन्नुभयो,“अस्पतालमा दैनिक आउने बिरामीमध्ये अधिकांशमा भाइरल ज्वरो देखिने गरेको छ । मौसम परिवर्तनले भाइरल बढेको हुनसक्छ। हावाहुरी,धुलोधुवाले गर्दा संक्रमण बढ्छ। ”
जिल्लाको तल्लोसोराड क्षेत्रको रेफरल सेन्टरको रुपमा रहेको केशरपुर प्राथमिक स्वास्थ्य केन्द्रमा पनि भाइरल ज्वरोका बिरामी बढेका छन् ।
जिल्लाका अन्य स्वास्थ्यसंस्थामा पनि भाइरल ज्वरोको बिरामी बढेका छन् । गाउँगाउँमा बिरामी बढेपछि यहाँका स्वास्थ्यसंस्थाहरुमा पनि बिरामीको चाप बढ्न थालेको हो ।

मौसम परिवर्तनले गर्दा गाउँघरमा भाइरल ज्वरोका बिरामी बढेका श्रीकोट स्वास्थ्यचौकीका ईञ्चार्ज वीरसिंह भाटले जानकारी दिनुभयो । स्वास्थ्यचौकीमा उपचारका लागि आउने अधिकांश बिरामीहरु भाइरल ज्वरोका आउने गरेका छन् । उहाँले भन्नुभयो,“ अन्य बेलाको तुलनामा आजभोलि भाइरल ज्वरोका बिरामी बढेका छन् । स्वास्थ्यचौकीमा दैनिक २० बिरामी ज्वरोकै पुग्ने गरेका छन् । ”

मौसम परिवर्तनका साथसाथै अस्वस्थकर खानपीनले पनि भाइरल ज्वरोको संक्रमण बढेको जिल्ला अस्पताल बैतडीका प्रमुख डाक्टर शुशिल विकले बताउनुभयो । ज्वरोका बिरामीहरुमा अन्य संक्रमण पनि हुन सक्ने भएकाले नजिकै स्वास्थ्य संस्थामा चेकजाँच गर्नुपर्नेमा जोड दिएइको छ ।

ज्वरोका बिरामीहरुले आफूखुसी मेडिकलबाट औषधी किनेर नखान स्वास्थ्यकर्मीहरुले सुझाव दिएका छन् । ज्वरो आउने बित्तिकै मेडिकलबाट औषधी किनेर खाने प्रवृति रहेकाले चेकजाँच गराएरमात्रै औषधी प्रयोग गर्नुपर्ने डाक्टर विकले बताउनुभयो ।

जथाभावी औषधीको प्रयोगले अन्य समस्या समेत निम्तिने भएकाले स्वास्थ्य संस्थाहरुमा चेकजाँच गराएर मात्रै औषधी सेवन गर्नुपर्ने, भाइरल ज्वरो लगायतका प्रकोपकबाट बच्नका लागि शुद्धीकरण गरिएको पानी मात्रै प्रयोग गर्नुपर्ने स्वास्थ्यकर्मीहरुले जोड दिएका छन् ।

junchadi
Cricket
Leave A Reply

Your email address will not be published.

error: Content is protected !!