बैतडी: बैतडीको दोगडाकेदार गाउँपालिका–३ श्रीकोटस्थित सिल्लेगडा बर्थिङ इकाईमा बेबी वार्मर (नवजात शिशु तापक्रम नियन्त्रक) उपलब्ध भएको छ ।
ज्योती विकास बैंकको आर्थिक सहयोग तथा राष्ट्रिय आविस्कार केन्द्रको प्राविधिक सहयोगमा बर्थिङ इकाईमा बेबी वार्मर उपलब्ध भएको हो ।
बेबी वार्मरले नवजात शिशु जन्मिंदा तापक्रमसम्बन्धी समस्या देखिएर अकालमै हुने मृत्युलाई रोक्न मद्दत गर्ने उपकरण रहेकाले सोही अनुसार शिशु मृत्युदर घटाउने उद्देश्यले उक्त उपकरण हस्तान्तरण गरिएको बैंकले जनाएको छ ।
बेबी वार्मको लागत करिब १ लाख पर्ने बताइएको छ ।
बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत १ दशमलब ५ प्रतिशत कोष सामाजिक कार्यमा खर्च गरेको जनाएको छ । नेपालमानै डाक्टर महावीर पुनको नेतृत्वमा स्वदेशी उत्पादन तथा आविष्कार केन्द्रद्वारा निर्मित यो उपकरण नवजात शिशुको तापक्रम नियन्त्रण गरी शिशु मृत्युदर घटाउने उद्देश्यले विगत पाँच वर्षदेखि वितरण हुँदै आएको छ ।
यसअघि पनि बैंकले विद्यालय, जिल्ला अस्पताल, कम्प्युटर, खानेपानी प्रणाली लगायतका क्षेत्रमा सहयोग गर्दै आइरहेको बताईएको छ ।
नवजात शिशुहरुलाई सितांग हुनबाट बचाउन यो मेसिनले सहयोग गर्ने बताउदै श्रीकोट स्वास्थ्य चौकीका ईञ्चार्ज वीरसिंह भाटले ज्योती विकास बैंकलाई यो सामाजिक कार्यका लागि धन्यवाद ज्ञापन गर्नुभयो ।
=
