काठमाडौं:प्रधानमन्त्री कप पुरूष एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा हालसम्म २३ खेल सम्पन्न भइसकेका छन्।
सात प्रदेश र तीन विभागीय टाेली सहभागी प्रतियोगिता लुम्बिनी प्रदेशका विभिन्न तीन मैदानमा सञ्चालन भइरहेका हुन्।
हालसम्म सम्पन्न खेलहरूमा विभागीय टाेलीहरूकाे दबदबा रहेकाे छ।
नेपाल पुलिस क्लब र त्रिभुवन आर्मी क्लब अपराजित छन्।
पुलिस पाँच खेल जित्दै १० अंकका साथ अंकतालिकाकाे शिर्ष स्थानमा रहँदा आर्मीकाे पनि समान खेलबाटै १० अंक रहेपनि नेट रनरेटका आधारमा दाेस्राेमा छ।
अर्काे विभागीय टाेली एपीएफ भने ५ खेलबाट ३ जितका साथ ६ अंकसहित चाैथाे स्थानमा छ।
एपीएफभन्दा लुम्बिनी प्रदेश अगाडि छ।
लुम्बिनीले ५ खेलबाट ८ अंक जाेडेर तेस्रोमा छ।
यस्तै गण्डकी पाँचौ, मधेश छैटौं,काेशी साताैं,कर्णाली आठौं , बागमती नवाैं र सुदूरपश्चिम दशाैं अर्थात पुछारमा छ।
फागुन २५ गतेदेखि सुरू प्रतियोगिता चैत १६ गतेसम्म सञ्चालन हुनेछ।
प्रतियोगिताका खेलहरू सिद्धार्थ रङ्गशाला, भैरहवा, देउखुरी क्रिकेट स्टेडियम, दाङ र एक्स्ट्राटेक ओभल, तिलोत्तमामा भइरहेका छन् ।
सिङ्गल राउन्ड रोबिनका आधारमा सञ्चालित लिग चरणको खेलपछि शीर्ष दुई टोलीबीच फाइनल खेल हुनेछ ।
अन्तिम चारमा सुरक्षित हुने टाेली जय ट्रफीका लागि छनाैट हुनेछन् ।
पीएम कपको उपाधि अहिलेसम्म विभागीय टिमले मात्र जितेका छन् । नेपाल पुलिस क्लबले तीन पटक तथा एपीएफ र त्रिभुवन आर्मीले दुई–दुई पटक उपाधि जितेका छन् ।
