बैतडी:यहाँका विभिन्न विद्यालयहरुले होली खेलेर संकलन गरेकाे रकम निजी श्रोतका शिक्षकहरूकाे तलबमा खर्च गर्ने भएका छन्।
निजी श्रोतका शिक्षकहरूकाे तलबकाे जाेहाे गर्नकै लागि हाेली खेलिएकाे पाटन नगरपालिका–९ स्थित सिद्धेश्वर मावि हुक्केडाँडाका विद्यालय व्यवस्थापन समिति अध्यक्ष प्रेमसिंह भाटले जानकारी दिनुभयाे।
चार दिनसम्म विद्यालयले होली खेलेर ३ लाख १८ हजार ८५० रुपैयाँ संकलन गरेको अध्यक्ष भाटले बताउनुभयाे। । उहाँले भन्नुभयाे,”स्थानीय संस्कृतिको संरक्षण र विद्यालय सञ्चालनका लागि होली खेलेका छाैं, संकलित रकम शिक्षकहरुको तलब र शैक्षिक सामग्री खरीदमा खर्च गरिनेछ।” ।
कक्षा १० सम्मको पढाई हुने सिद्धेश्वर माविमा निजी श्रोतका शिक्षकहरु रहेकाले उनीहरुको तलब व्यवस्थापनका लागि हरेक बर्ष होली खेल्ने गरिएको छ ।
यस्तै पाटन नगरपालिका १ स्थित सिद्धेश्वर मावि मेलचौराले होली खेलेर ३ लाख ३० हजार ६५७ रुपैयाँ संकलन गरेको छ । उक्त रकमले विद्यालय सञ्चालनमा सहजता हुने विद्यालयले जनाएको छ ।
पाटन नगरपालिका–१० को सरस्वती माध्यमिक विद्यालय सल्लेबासाले होली खेलेर दुई लाखभन्दा बढी रुपैयाँ संकलन गरेको छ । होलीबाट सङ्कलित रकमले विद्यालयमा शैक्षिक सामग्री किन्ने गरेको प्रधानाध्यापक लोकराज भट्टले बताउनुभयाे।
यस्तै पाटन नगरपालिका – २ स्थित सिद्धनाथ मावि सिलङ्गाले ७९ हजार २३५ रुपैया संकलन गरेको छ । तीनदिन सम्म होली खेलेर उक्त रकम संकलन गरिएको विद्यालयले जनाएको छ।
जनता मावि आरुबाटा, सिगास मावि गुरुडा, केदार मावि कठमडा लगायतका विद्यालयहरुले यो बर्ष होली खेलका छन् । होलीबाट संकलन भएको रकमले विद्यालय सञ्चालनमा सहजता हुने शिक्षण संस्थाहरुले जनाएका छन् ।
यस्तै केदारनाथ हाेली कमिटि श्रीकाेट,जगन्नाथ बहुमुखी क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियन, दशरथचन्द नगरपालिका–१ स्थित सत्यं शिवं सुन्दरम् समाज, सैंपाल होली कमिटि लगायतका संघ संस्था, क्लब र समूहरुले होली खेलेर रकम संकलन गरेका छन् ।
होलीबाट संकलन गरिएको रकम सामाजिक क्षेत्रमा खर्च गरिने केदारनाथ हाेली कमिटि श्रीकाेटका अध्यक्ष गणेश विष्टले बताउनुभयो ।
