बैतडीः दशरथचन्द नगरपालिकाकाे टिम बैतडीमा जारी मैनेजर तेजबहादुर चन्द स्मृति अन्तरपालिका जिल्लास्तरीय भलिबल प्रतियोगिताकाे फाइनलमा पुगेकाे छ।
शाहिलेकस्थित विरेन्द्र माविकाे खेलमैदानमा सम्पन्न सेमिफाइनलमा सिगास गाउँपालिकालाई ३-१ काे सेटमा हराउदै दशरथचन्द फाइनलमा पुगेकाे हाे ।
पहिलाे सेट २५-१७ ले जितेको सिगासले त्यसपछिका तीन सेट लगातार रूपमा गुमाउन पुग्याे।
साविक उपविजेता समेत रहेकाे दशरथचन्दले दाेस्राे सेट २५-१०,तेस्रो २५-२३ र चाैथाे सेट २५-१२ ले हात पार्दै फाइनलमा सुरक्षित भयाे।
दशरथचन्दले उपाधिका लागि मेलाैली र सुर्नयामध्ये विजेतासंग खेल्नेछ।
प्रतियोगिताको विजेताले १ लाख २५ हजार पुरस्कार पाउने ट्रष्टका सचिव विनाेदबहादुर चन्दले जानकारी दिनुभयाे।
यस्तै उपविजेताले ७५ हजार, तृतीयले ३५ हजार, सान्त्वनालाई १५ हजार र उत्कृष्ट खेलाडीलाई ५ हजार पुरस्कार दिइनेछ ।
मैनेजर तेजबहादुर चन्द ट्रष्टकाे आयाेजनामा गत बिहीबारदेखि भएको प्रतियोगितामा डिलाशैनी गाउँपालिकाबाहेक जिल्लाका सबै पालिकाकाे सहभागीता रहेकाे थियोे ।
यसअघि सम्पन्न प्रतियोगिताको उपाधि मेलौली नगरपालिकाले जितेको थियो ।
प्रतियोगिताले भलिबल खेलाडी उत्पादनमा सहयोग मिल्ने विश्वास गरिएको छ ।
दशरथचन्द नगरपालिका ५ घर भएका तेजबहादुर चन्द वाणिज्य बैंकका क्षेत्रिय प्रबन्धक हुनुहुन्थ्यो ।
उहाँकै स्मृतिमा वि स २०७४ सालमा स्थापना भएकाे ट्रष्टले जिल्लामा विभिन्न सामाजिक कार्यका साथै खेलाडीहरुको क्षमता अभिवृद्धिका लागि हरेक प्रत्येक वर्ष भलिबल प्रतियोगिताको आयोजना गर्दै आएको छ ।
