बैतडी: बैतडीमा जारी मैनेजर तेजबहादुर चन्द स्मृति अन्तरपालिका जिल्लास्तरीय भलिबल प्रतियोगिताकाे सेमिफाइनल पुग्ने सबै टाेलीकाे टुंगाे लागेकाे छ।
आज सम्पन्न अन्तिम क्वाटरफाइनल खेलमा दाेगडाकेदार गाउँपालिकामाथि ३-० काे साेझाे सेटकाे जित निकाल्दै दशरथचन्द नगरपालिकाकाे टाेली सेमिफाइनलमा पुग्याे।
यसअघि मेलाैली नगरपालिका,सुर्नया गाउँपालिका र सिगास गाउँपालिका अन्तिम चारमा सुरक्षित भइसकेका छन्।
गाेठलापानीस्थित जगन्नाथ बहुउद्देश्यीय खेलमैदानमा भएकाे खेलमा दशरथचन्दले पहिलाे सेट २५-१९ ,दाेस्राे २५-२०,तेस्राे २५-१७ ले जित्याे।
पराजित दाेगडाकेदार क्वाटरफाइनलबाटै घर फर्किन बाध्य भयाे ।
मैनेजर तेजबहादुर चन्द ट्रष्टकाे आयाेजनामा गत बिहीबारदेखि भएको प्रतियोगितामा डिलाशैनी गाउँपालिकाबाहेक जिल्लाका सबै पालिकाकाे सहभागीता रहेकाे छ।
प्रतियोगिताको विजेताले १ लाख २५ हजार पुरस्कार पाउने ट्रष्टका सचिव विनाेदबहादुर चन्दले जानकारी दिनुभयाे।
यस्तै उपविजेताले ७५ हजार, तृतीयले ३५ हजार, सान्त्वनालाई १५ हजार र उत्कृष्ट खेलाडीलाई ५ हजार पुरस्कार दिइनेछ ।
यसअघि सम्पन्न प्रतियोगिताको उपाधि मेलौली नगरपालिकाले जितेको थियो ।
प्रतियोगिताले भलिबल खेलाडी उत्पादनमा सहयोग मिल्ने विश्वास गरिएको छ ।
दशरथचन्द नगरपालिका ५ घर भएका तेजबहादुर चन्द वाणिज्य बैंकका क्षेत्रिय प्रबन्धक हुनुहुन्थ्यो ।
उहाँकै स्मृतिमा वि स २०७४ सालमा स्थापना भएकाे ट्रष्टले जिल्लामा विभिन्न सामाजिक कार्यका साथै खेलाडीहरुको क्षमता अभिवृद्धिका लागि हरेक प्रत्येक वर्ष भलिबल प्रतियोगिताको आयोजना गर्दै आएको छ ।
