बैतडी: बैतडीमा जारी मैनेजर तेजबहादुर चन्द स्मृति अन्तरपालिका जिल्लास्तरीय भलिबल प्रतियोगितामा
दशरथचन्द नगरपालिकाले विजयी सुरूआत गरेकाे छ।
शाहिलेकस्थित विरेन्द्र माविकाे खेलमैदानमा भएकाे खेलमा दशरथचन्दले पञ्चेश्वर गाउँपालिकालाई ३-१ काे सेटमा हरायाे।
सुरूका दुई सेट लगातार जितेकाे दशरथचन्दले तेस्राे सेट गुमायाे । चाैथाे सेट आफ्नाे पक्षमा पार्दै दशरथचन्दले ३-१ सेटमा जित हासिल गर्याे।
दशरथचन्दले पहिलाे सेट २५-१९, दाेस्राे २७-२५ ले जित्याे । तेस्राे सेटमा पञ्चेश्वर २५-२१ ले विजयी भयाे।
चाैथाे सेट २५-२१ ले आफ्नाे पक्षमा पार्दै दशरथचन्दले खेलमा विजयी भयाे।
मैनेजर तेजबहादुर चन्द ट्रष्टकाे आयाेजनामा बिहीबारदेखि भएको प्रतियोगितामा डिलाशैनी गाउँपालिकाबाहेक जिल्लाका सबै पालिकाकाे सहभागीता रहेकाे छ।
प्रतियोगिताको विजेताले १ लाख २५ हजार पुरस्कार पाउने ट्रष्टका सचिव विनाेदबहादुर चन्दले जानकारी दिनुभयाे।
यस्तै उपविजेताले ७५ हजार, तृतीयले ३५ हजार, सान्त्वनालाई १५ हजार र उत्कृष्ट खेलाडीलाई ५ हजार पुरस्कार दिइनेछ ।
यसअघि सम्पन्न प्रतियोगिताको उपाधि मेलौली नगरपालिकाले जितेको थियो ।
प्रतियोगिताले भलिबल खेलाडी उत्पादनमा सहयोग मिल्ने विश्वास गरिएको छ ।
दशरथचन्द नगरपालिका ५ घर भएका तेजबहादुर चन्द वाणिज्य बैंकका क्षेत्रिय प्रबन्धक हुनुहुन्थ्यो ।
उहाँकै स्मृतिमा वि स २०७४ सालमा स्थापना भएकाे ट्रष्टले जिल्लामा विभिन्न सामाजिक कार्यका साथै खेलाडीहरुको क्षमता अभिवृद्धिका लागि हरेक प्रत्येक वर्ष भलिबल प्रतियोगिताको आयोजना गर्दै आएको छ ।
