बैतडी: अविरल वर्षाका कारण बैतडीमा जारी मैनेजर तेजबहादुर चन्द स्मृति अन्तरपालिका जिल्लास्तरीय भलिबल प्रतियोगिताका खेलहरू अवरुद्ध भएका छन्।
गाेठलापानीस्थित जगन्नाथ बहुउद्देश्यीय खेलमैदानमा सञ्चालन भइरहेका खेलहरू निरन्तरकाे वर्षाका कारण अवरुद्ध भएका हुन्।
बिहीबार दिउँसोदेखि यहाँ अविरल वर्षा भइरहेको छ।
वर्षाका कारण खेलमैदानमा पानी जमेपछि बिहीबार दिउँसोदेखि कुनै पनि खेल हुन नसकेका रेफ्री संयाेजक हरिसिंह भण्डारीले जानकारी दिनुभयो ।
यसअघि बिहीबार उद्घाटन खेल भएकाे थियाे । दाेस्राे खेलमा बिहीबार दिउँसो दशरथचन्द नगरपालिका र पञ्चेश्वर गाउँपालिकाबीचकाे खेल भइरहेका बेला वर्षा भएको र त्यसपश्चात पानी पर्ने क्रम नराेकिएपछि खेल स्थगित गरिएका हुन्।
मैनेजर तेजबहादुर चन्द ट्रष्टकाे आयाेजनामा बिहीबारदेखि भएको प्रतियोगितामा डिलाशैनी गाउँपालिकाबाहेक जिल्लाका सबै पालिकाकाे सहभागीता रहेकाे छ।
प्रतियोगिताको विजेताले १ लाख २५ हजार पुरस्कार पाउने ट्रष्टका सचिव विनाेदबहादुर चन्दले जानकारी दिनुभयाे।
यस्तै उपविजेताले ७५ हजार, तृतीयले ३५ हजार,सान्त्वनालाई १५ हजार र उत्कृष्ट खेलाडीलाई ५ हजार पुरस्कार दिइनेछ ।
यसअघि सम्पन्न प्रतियोगिताको उपाधि मेलौली नगरपालिकाले जितेको थियो ।
प्रतियोगिताले भलिबल खेलाडी उत्पादनमा सहयोग मिल्ने विश्वास गरिएको छ ।
दशरथचन्द नगरपालिका ५ घर भएका तेजबहादुर चन्द वाणिज्य बैंकका क्षेत्रिय प्रबन्धक हुनुहुन्थ्यो ।
उहाँकै स्मृतिमा वि स २०७४ सालमा स्थापना भएकाे ट्रष्टले जिल्लामा विभिन्न सामाजिक कार्यका साथै खेलाडीहरुको क्षमता अभिवृद्धिका लागि हरेक प्रत्येक वर्ष भलिबल प्रतियोगिताको आयोजना गर्दै आएको छ ।
