बैतडी: बैतडीमा आजदेखि मैनेजर तेजबहादुर चन्द स्मृति अन्तरपालिका जिल्लास्तरीय भलिबल प्रतियोगिता सुरू भएकाे छ।
गाेठलापानीस्थित जगन्नाथ बहुउद्देश्यीय खेलमैदानमा एक कार्यक्रमकाबीच दशरथचन्द नगरपालिकाका प्रमुख पुस्करराज जाेशीले प्रतियोगिताकाे उद्घाटन गर्नुभयाे।
उद्घाटन समाराेहमा बाेल्दै नगरप्रमुख जाेशीले खेलकुद क्षेत्र प्राथमिकतामा राखिएको बताउनुभयो । उहाँले भन्नुभयो,”खेल र खेलाडीकाे विकासका लागि हामीले विभिन्न कार्यक्रम गरिरहेका छाैं।खेलपूर्वाधार निर्माणमा समेत जाेड दिएका छाैं।”
मैनेजर तेजबहादुर चन्द ट्रष्टका अध्यक्ष ईन्जिनियर ग्रिस चन्दकाे अध्यक्षता भएकाे उद्घाटन समाराेहमा नगरप्रमुख जाेशीसंगै बैतडीका प्रमुख जिल्ला अधिकारी दीर्घराज उपाध्यायलगायतकाे उपस्थिति रहेकाे थियोे ।
उद्घाटन अगाडि बिहान छलिया नृत्य र बाजागाजासहित र्याली निकालिएको थियाे।
उद्घाटन समाराेहपश्चात भएको पहिलाे खेलमा सुर्नया गाउँपालिका विजयी भएकाे रेफ्री संयाेजक हरिसिंह भण्डारीले जानकारी दिनुभयो ।
सुखद सुरूआत गर्ने क्रममा सुर्नयाले दाेगडाकेदार गाउँपालिकालाई ३-० काे साेझाे सेटमा हरायाे।
सुर्नयाले पहिलाे सेट २५-१८,दाेस्राे २५-२२ र तेस्राे
२५-२३ काे अंकमा जित निकाल्याे।
मैनेजर तेजबहादुर चन्द ट्रष्टकाे आयाेजनामा सुरू भएको प्रतियोगितामा डिलाशैनी गाउँपालिकाबाहेक जिल्लाका सबै पालिकाकाे सहभागीता रहेकाे छ।
१८ गतेसम्म सञ्चालन हुने प्रतियोगिताको विजेताले १ लाख २५ हजार ,उपविजेताले ७५ हजार पुरस्कार पाउने
ट्रष्टका सचिव विनाेदबहादुर चन्दले जानकारी दिनुभयाे।
यस्तै तृतीय पुरस्कार ३५ हजार,सान्त्वना पुरस्कार १५ हजार र उत्कृष्ट खेलाडीलाई ५ हजार पुरस्कार दिइनेछ ।
यसअघि सम्पन्न प्रतियोगिताको उपाधि मेलौली नगरपालिकाले जितेको थियो ।
प्रतियोगिताले भलिबल खेलाडी उत्पादनमा सहयोग मिल्ने विश्वास गरिएको छ ।
दशरथचन्द नगरपालिका ५ घर भएका तेजबहादुर चन्द वाणिज्य बैंकका क्षेत्रिय प्रबन्धक हुनुहुन्थ्यो ।
उहाँकै स्मृतिमा वि स २०७४ सालमा स्थापना भएकाे ट्रष्टले जिल्लामा विभिन्न सामाजिक कार्यका साथै खेलाडीहरुको क्षमता अभिवृद्धिका लागि हरेक प्रत्येक वर्ष भलिबल प्रतियोगिताको आयोजना गर्दै आएको छ ।
