बैतडी: मैनेजर तेजबहादुर चन्द स्मृति अन्तरपालिका जिल्लास्तरीय भलिबल प्रतियोगिता भाेलिदेखि हुने भएको छ।
गाेठलापानीस्थित जगन्नाथ बहुमुखी क्याम्पसकाे खेलमैदानमा हुने प्रतियोगिताकाे सम्पूर्ण तयारी पूरा भइसकेको आयाेजक मेनेजर तेजबहादुर चन्द ट्रष्टका सचिव विनाेदबहादुर चन्दले जानकारी दिनुभयाे।
प्रतियोगिताकाे उद्घाटन दशरथचन्द नगरपालिकाका प्रमुख पुस्करराज जाेशी लख्खाभाईले गर्ने कार्यक्रम रहेकाे छ।
भाेलि बिहान विद्युत कार्यालय अगाडिबाट बाजागाजासहितकाे र्याली सुरू हुने र खेलस्थलमा पुगेर टुंगिनेछ।
त्यसपश्चात एक औपचारिक कार्यक्रम गरेर उद्घाटन गरिनेछ।
उद्घाटन खेलमा मेलाैली नगरपालिका र सिगास गाउँपालिका भिड्नेछन्।
प्रतियोगितामा डिलाशैनी गाउँपालिकाबाहेक जिल्लाका सबै पालिकाले टिम दर्ता गराएका छन्।
सहभागी टाेलीलाई ४ समूहमा विभाजन गरिएको छ।
समूह ए मा मेलाैली नगरपालिका र सिगास गाउँपालिका , समूह बी मा सुर्नया र दाेगडाकेदार गाउँपालिका, समूह सी मा पाटन नगरपालिका र शिवनाथ गाउँपालिका, समूह डी मा दशरथचन्द नगरपालिका, पञ्चेश्वर गाउँपालिका र पुर्चाैडी नगरपालिका रहेका छन्।
लिग र नकआउट चरण गरेर प्रतियोगिता सञ्चालन हुने भलिबल प्रशिक्षक हरि सिंह भण्डारीले बताउनुभयो ।
१८ गतेसम्म सञ्चालन हुने प्रतियोगिताको विजेताले १ लाख २५ हजार ,उपविजेताले ७५ हजार पुरस्कार पाउनेछ।
यस्तै तृतीय पुरस्कार ३५ हजार,सान्त्वना पुरस्कार १५ हजार र उत्कृष्ट खेलाडीलाई ५ हजार पुरस्कार दिइनेछ ।
यसअघि सम्पन्न प्रतियोगिताको उपाधि मेलौली नगरपालिकाले जितेको थियो ।
प्रतियोगिताले भलिबल खेलाडी उत्पादनमा सहयोग मिल्ने विश्वास गरिएको छ ।
जिल्लामा विभिन्न सामाजिक कार्य गर्दै आएको ट्रष्टले खेलाडीहरुको क्षमता अभिवृद्धिका लागि हरेक प्रत्येक वर्ष भलिबल प्रतियोगिताको आयोजना गर्दै आएको छ ।
