धनगढी: धनगढीमा सम्पन्न तेस्रो संस्करणको एसपिए कैलाली प्रिमियर लिगको उपाधि भीमदत्त नगरपालिकाले जितेको छ । बुधवार भएको खेलमा पुनर्वास नगरपालिकालाई ५ विकेटले पराजित गर्दै भीमदत्तले उपाधिमाथि कब्जा जमाएको हो ।
उपाधिसँगै भीमदत्तले नगद २ लाख जितेको छ । उपविजेता बनेको पुनर्वासले एक लाखमा चित्त बुझाएको छ ।
भीमदत्त नगरपालिकालाई उपाधि दिलाउन साजन बिटालु र प्रकाश पायडेयले ९३ रनको अविजित अर्धशतकीय साझेदारी गरे । बिटालुले ६७ तथा पाण्डेयले ५४ रनको अविजित अर्धशतकीय पारी खेले । भीमदत्त नगरपालिकाका लागि मिलन बोहराले ३४ रनको योगदान दिए ।
पुनर्वास नगरपालिकाका लागि भोजराज भट्टले ३ विकेट लिए पनि टिमलाई जिताउन भने सकेनन् । कृष्ण कार्की र सागर भण्डारीले समान एक एक विकेट लिए ।
त्यसअघि फाप्ला मैदानमा टस जितेर पहिला ब्याटिङ गरेको पुनर्वास नगरपालिका बीले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै १६९ रन बनायो । पुनर्वासका लागि चौथो नम्बरमा ब्याटिङ गर्न आएका वसन्त सिंह कार्कीले आक्रामक ब्याटिङ गरे । ४० बलको सामना गरेका कार्कीले ७ चौका र ४ छक्काको मद्दतले अविजित ७२ रनको पारी खेले ।
त्यस्तै कप्तान विपिन रावल ३८ ,सुवास ऐर १८ ,नवयुग बस्नेत १४, आशिष लुहार १२ रनमा रिटार्यड आउट भए । भीमदत्त नगरपालिकाका लागि साजन बिटालु,किरण चन्द,सन्तोष भट्ट र समीर विष्टले समान एक एक विकेट लिए ।
