धनगढी: कैलालीको धनगढीमा जारी एसपिए कैलाली प्रिमियर लिग-३ को उपाधिका लागि कञ्चनपुरकै दुई टोली पुनर्वास बी र भीमदत्त भिड्ने भएका छन् ।
मङ्गलवार पहिलो सेमिफाइनलमा कैलालीको गोदावरी नगरपालिकाको टिम अनुपस्थित भएपछि वाक ओभर पाएर कञ्चनपुरको पुनर्वास नगरपालिका बी फाइनलमा प्रवेश गरेको छ ।
त्यस्तै दोस्रो सेमिफाइनलमा बाजुराको त्रिवेणी नगरपालिकालाई ३२ रनले पराजित गर्दै कञ्चनपुरको भीमदत्त नगरपालिका फाइनलमा प्रवेश गरेको हो ।
भीमदत्तले दिएको १३३ रनको लक्ष्य पछ्याउने क्रममा त्रिवेणीले १९.१ ओभरमा अल आउट हुँदै १०० रन मात्र बनाउन सक्यो ।
त्रिवेणीका लागि सुमित श्रेष्ठले सर्वाधिक २५ रन बनाए । विजय रानाले २१ रन बनाउँदा तुल बहादुर थापाले १९ रनको योगदान दिए ।
भीमदत्तका लागि अरुण ऐरीले ५ विकेट लिए । उनी म्यान अफ दी म्याच चुनिए । त्यस्तै विकास आग्रीले २ तथा साजन बिटालु र किरण चन्दले समान एक एक विकेट लिए ।
त्यसअघि टस जितेर पहिला ब्याटिङ गरेको भीमदत्तले १९.१ ओभरमा अल आउट हुँदै १३२ रन रनको मध्यम योगफल तयार पारेको थियो ।
उसका लागि ओपनर ब्याटर अभिषेक थापाले ४३ रनको अविजित पारी खेले । कप्तान प्रकाश पाण्डेयले १६ रन बनाउँदा मिलन बोहराले १४,साजन बिटालुले १३,नितेन विष्ट र समीर विष्टले समान १२ ÷ १२ रन बनाए ।
त्रिवेणीका लागि दीपक टमाट्टाले ३ विकेट लिए ।
दिनेश महरा र सन मौरियाको नाममा दुई दुई विकेट रह्यो । फाइनल खेल फाल्गुन १४ गते अर्थात् भोली दिउँसो १ बजेबाट धनगढीको फाप्ला मैदानमा हुनेछ ।
जिल्ला क्रिकेट सङ्घ कैलालीको आयोजनामा सञ्चालन भइरहेको एसपिए कैलाली प्रिमियर लिगको यो तेस्रो संस्करण हो । तेस्रो संस्करणमा मुख्य प्रायोजक धनगढीको सुदूर पश्चिमाञ्चल एकेडेमी एसपिए रहेको छ ।
पहिलो संस्करण कैलालीको गोदावरी नगरपालिकाको टिमले जितेको थियो भने दोस्रो संस्करण डडेलधुराको आलिताल गाउँपालिकाले जितेको थियो ।
प्रतियोगिताको विजेता टोलीले नगद २ लाख,उपविजेता टोलीले नगद १ लाख,सर्वोत्कृष्ट खेलाडीले नगद २५ हजार,वेस्ट बलर र ब्याटरले जनही १५/१५ हजार,उदयमान खेलाडीले १० हजार र प्रत्येक खेलको म्यान अफ दी म्याचले नगद पच्चिस सय प्राप्त गर्ने आयोजक जिल्ला क्रिकेट सङ्घ कैलालीले जनाएको छ ।
प्रतियोगितामा पुरस्कार राशि र अन्य गरेर जम्मा २५ लाख बराबर खर्च हुने आयोजकले जनाएको छ।
