दशरथचन्दमा गर्भवती र सुत्केरीलाई नि:शुल्क एम्बुलेन्स सेवा

बैतडी: बैतडीको दशरथचन्द नगरपालिकाले गर्भवती र सुत्केरीलाई नि:शुल्क एम्बुलेन्स सेवा सञ्चालन गरेकाे छ।

गर्भवती र सुत्केरीलाई नि:शुल्क एम्बुलेन्स सेवा दिने उद्देश्यले साेमबार जोशीबुङ्गा स्वास्थ्यचौकीलाई एम्बुलेन्स हस्तान्तरण गरिएको नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख भुवनप्रसाद जोशीले जानकारी दिनुभयाे ।

सोमबार एक कार्यक्रमकाबीच नगर प्रमुख पुष्करराज जोशीले वडा नं ९ का अध्यक्ष मोहनदेव जोशी र वडा नं ११ का अध्यक्ष जयदत्त पन्तलाई संयुक्त रुपमा एम्बुलेन्स हस्तान्तरण गरिएको हाे।
नगरपालिकाले वडा नं ९ र ११ का नागरिकलाई लक्षित गरेर जोशीबुङ्गा स्वास्थ्यचौकीलाई एम्बुलेन्स हस्तान्तरण गरिएकाे हाे।
यसअघि देहीमाण्डौं स्वास्थ्यचौकीले सञ्चालन गर्दै आएको उक्त एम्बुलेन्स मर्मत गरेर जोशीबुङ्गा स्वास्थ्यचौकीलाई हस्तान्तरण गरिएको जनाएको छ ।

देहीमाण्डौंमा नयाँ एम्बुलेन्स आएपछि जोशीबुङ्गा स्वास्थ्यचौकीलाई उक्त एम्बुलेन्स हस्तान्तरण गरिएको हाे ।

जोशीबुङ्गा स्वास्थ्यचौकीमा एम्बुलेन्स भित्रिएसंगै वडा नं ९ र ११ आकस्मिक बिरामी तथा गर्भवती र सुत्केरी आमाहरुलाई सुविधासम्पन्न अस्पतालमा पुर्याउन सहज हुने विश्वास गरिएको दशरथचन्द नगरपालिकाका उपप्रमुख काैशिला चन्दले बताउनुभयाे। 

दशरथचन्द नगरपालिकाले गएको तीन बर्षदेखि गर्भवती तथा सुत्केरी आमाहरुलाई अन्यत्र अस्पताल लैजानुपरेमा नि:शुल्क एम्बुलेन्स उपलब्ध गराउँदै आएको र त्यसकाे निरन्तरताका लागि जोशीबुङ्गामा पनि एम्बुलेन्स सेवा उपलब्ध गराइएको हाे । 

एम्बुलेन्स हस्तान्तरण कार्यक्रममा बोल्दै नगर प्रमुख जोशीले नगरबासीको आधारभूत स्वास्थ्य सेवामा सहज पहुँच पुर्याउन नगरपालिकाले काम गरिरहेको बताउनुभयाे। 

Leave A Reply

Your email address will not be published.

error: Content is protected !!