गरिब विद्यार्थीकी सारथी बन्दै उपप्रमुख चन्द

बैतडी: बैतडीको दशरथचन्द नगरपालिकाकी उपप्रमुख कौशिला चन्द गरिब विद्यार्थीकी सारथी बन्दै गएकी छन् । चन्दले गरिब विद्यार्थी खोज्दै सहयोग गर्दै आउनुभएको छ ।
आर्थिक अभावका कारण पढाईबाट बञ्चित भएका बालबालिकालाई उपप्रमुख चन्दले सहयोग गर्दै आउनुभएको छ ।

यसैबीच दशरथचन्द नगरपालिका–१० स्थित दानेश्वर मावि बाराकोटमा कृषि जेटीए अध्ययन गरेका पाँच जना छात्राको शुल्क तिरिदिनुभएको छ।
विद्यालयमा बुझाउनुपर्ने शुल्क बुझाउन नसक्दा सर्टिफिकेटबाट वञ्चित भएका पाँच जना छात्राको शुल्क उपप्रमुख चन्दले तिरीदिनुभएको हो ।

शुल्क तिर्न पैसा नहुँदा उनीहरुले सर्टिफिकेट पाउन नसकेको अवस्थामा उपप्रमुख चन्दले शुल्क बापतको रकम विद्यालयको खातामा जमा गरेको बताउनुभयो ।
उपप्रमुखले शुल्क तिरेपछि निशा दमाई, सपना दमाई, ज्योति थापा, दिपा रावल र रविना थापाले विद्यालयबाट सर्टिफिकेट प्राप्त गर्नुभएको छ ।

कृषि जेटीए उत्तीर्ण गरेपनि विद्यालयको शुल्क उनीहरुले बुझाउन सकेका थिएन् । उपप्रमुख चन्दले आफूले पाउने सेवासुविधाको रकमबाट पाँच जना छात्राको शुल्क तिर्नुभएको हो ।

उपप्रमुखले पाँच जना विद्यार्थीको शुल्क विद्यालयको खातामा जम्मा गरेपछि सोमबार विद्यार्थी र अभिभावक बोलाएर सर्टिफिकेट हस्तान्तरण गरिएको दानेश्वर माविका प्रधानाध्यापक हर्कसिंह बिष्टले बताउनुभयो । अघिल्लो नगर सरकारले शुल्क तिरिदिने शर्तमा विद्यार्थीहरुलाई भर्ना गरिएको थियो । तर नगरपालिकामा दोश्रो निर्वाचनबाट सरकार परिवर्तन भएपनि कार्यविधि नबनेको भन्दै शुल्क दिएको थिएन् । नगरपालिकाले नदिएपछि उपप्रमुखले आफूले पाउने मासिक सुविधाको रकमबाट शुल्क तिरेपछि विद्यार्थीहरुलाई सर्टिफिकेट वितरण गरिएको प्रधानाध्पाक बिष्टले बताउनुभयो ।

शुल्क बुझाउन नसकेकै कारण पाँच जना छात्राहरुको सर्टिफिकेट रोकिएको कुरा थाहा पाएपछि आफूले शुल्क तिरिदिएको उपप्रमुख चन्दले बताउनुभयो । अत्यन्त विपन्न घरपरिवारका विद्यार्थीहरुलाई सहयोग गर्न पाउँदा निकै खुसी लागेको चन्दको भनाई छ

दानेश्वर माध्यमिक विद्यालयले २०७५ सालदेखि निजी स्रोतका शिक्षक राखेर १८ महिने कृषि प्राविधिक विषयको पढाइ गरिरहेको छ । निजी श्रोतका शिक्षकहरुको तलब व्यवस्थापन गर्नका लागि शुल्क तोकिएको बताइएको छ ।

उपप्रमुख चन्दको सहयोगले पाँच जना विद्यार्थीहरुले सर्टिफिकेट पाएको र यो निकै राम्रो कार्य भएको जिल्ला समन्वय समितिका पूर्व सदस्य लालबहादुर चन्दले बताउनुभयो ।

उपप्रमुख चन्दले यसअघि नै आफूले पाउने सेवासुविधा गरिब,जेहेन्दार,विपन्नलाई सहयोग गर्ने घोषणा गर्नुभएको थियो ।

Leave A Reply

Your email address will not be published.

error: Content is protected !!