स्वमूल्यांकनमा पुर्चौडी प्रथम, एफआरएमा शिवनाथ सर्वोत्कृष्ट

बैतडी: राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले देशभरका स्थानीय तहहरुको कार्यसम्पादन मूल्यांकनमा बैतडीको पुर्चौडी नगरपालिका प्रथम भएको छ । विभिन्न १७ ओटा सूचकमा आधारित रहेर स्थानीय तहहरुको कार्यसम्पादन मूल्यांकनका आधारमा प्रकाशन गरेको नतिजा अनुसार बैतडीका १० ओटा स्थानीय तहमध्ये पुर्चौडी नगरपालिका प्रथम भएको हो ।

पुर्चौडीले ६२.५ प्रतिशत अंक ल्याएर पहिलो भएको हो । यस्तै ४६.२ प्रतिशत अंकसहित पञ्चेश्वर गाउँपालिका पुछारमा रहेको छ ।

आयोगले प्रकाशन गरेको कार्यसम्पादन मूल्यांकन नतिजा अनुसार पाटन नगरपालिकाले ६१.६ प्रतिशत, शिवनाथ गाउँपालिकाले ५९.८ प्रतिशत, दोगडाकेदार गाउँपालिका ५८.८ प्रतिशत, सुर्नया गाउँपालिकाले ५८ प्रतिशत र सिगास गाउँपालिकाले ५४ प्रतिशत अंक पाएको छ ।
यस्तै दशरथचन्द नगरपालिकाले ५२.३ प्रतिशत, मेलौली नगरपालिकाले ४९.५ प्रतिशत र डिलाशैनी गाउँपालिकाले ४६.९ प्रतिशत अंक प्राप्त गरेको छ ।

आयोगले विभिन्न सूचकहरु तय गरेर मूल्यांकन गरेको जनाएको छ । जसमा पालिकाहरूले २०८१ असार १० गतेभित्र आर्थिक वर्ष २०८१÷०८२ को राजस्व र व्ययको अनुमान सम्बन्धित गाउँसभा तथा नगरसभामा पेस गरे–नगरेको, गाउँ कार्यपालिका र नगर कार्यपालिकाले आर्थिक वर्ष २०८१÷०८२ को राजस्व र व्ययको अनुमान सम्बन्धित सभाबाट २०८१ असार मसान्तभित्र पारित गरे–नगरेको सूचक राखिएका छन् ।

यस्तै स्थानीय तहहरुले प्रदेश सरकारलाई दिनुपर्ने विभिन्न करबापतको रकम मासिक रुपमा प्रदेश सञ्चित कोषमा जमा गरे÷नगरेको, यस्तै चालु शैक्षिक सत्रमा कक्षा १ देखि ८ सम्मका विद्यार्थी भर्नादर, चार पटक गर्भजाँच गराउने आमाको संख्या, कुल गर्भवतीमध्ये स्वास्थ्य संस्थामा सुत्केरी भएका आमाको संख्या, पूर्ण खोप पाएका बालबालिकाहरुको अनुपातलाई समेत आयोगले सूचक बनाएको छ ।

यसैबीच बैतडीका १० ओटै स्थानीय तहको बित्तीय सुशासन जोखिम मूल्यांकन (एफआरए) नतिजा सार्वजनिक गरिएको छ । जिल्ला समन्वय समिति बैतडीले सार्वजनिक गरेको नतिजा अनुसार ६ ओटा पालिका मध्यम जोखिममा परेका छन् । \

यस्तै बित्तीय सुशासनको हिसाबले अन्य चार ओटा पालिका न्यून जोखिममा परेका छन् । स्थानीय सरकार सञ्चालन ऐन २०७४ को दफा ८० बमोजीम स्थानीय तहहरुको बित्तीय सुशासन जोखिम मूल्यांकन गरिएको जिल्ला समन्वय समितिका समन्वय अधिकारी राजबहादुर धामीले बताउनुभयो ।

जिल्ला समन्वय समितिले सार्वजनिक गरेको नतिजा अनुसार शिवनाथ गाउँपालिका ८९.५० प्रतिशत अंक ल्याएर न्यून जोखिममा रहेको छ । यस्तै पुछारमा रहेको डिलाशैनी गाउँपालिकाले ५५ प्रतिशत अंक ल्याएर मध्यम जोखिममा रहेको छ ।
९ देखि ४० प्रतिशत अंक ल्याउने पालिकालाई उच्च जोखिम, ४१–८० प्रतिशत अंक ल्याउने पालिकालाई मध्यम जोखिम र ८० भन्दा बढी प्रतिशत अंक ल्याउने पालिकालाई न्यून जोखिममा राख्ने गरिएको छ ।
नतिजा अनुसार सुर्नया गाउँपालिकाले ८६.५० प्रतिशत, दोगडाकेदार गाउँपालिकाले ८६ र पुर्चौंडी नगरपालिकाले ८१.५० प्रतिशत अंक ल्याएर न्यून जोखिममा परेका छन् ।
यस्तै मेलौली नगरपालिकाले ८० प्रतिशत, सिगास गाउँपालिकाले ७८.५० प्रतिशत, दशरथचन्द नगरपालिकाले ६७ प्रतितशत, पाटन नगरपालिकाले ६३.५० प्रतिशत र पञ्चेश्वर गाउँपालिकाले ६२ प्रतिशत अंक प्राप्त गरेको छ । यी पालिकाहरु मध्यम जोखिममा रहेका छन् ।

स्थानीय तहको बित्तीय प्रणालीलाई व्यवस्थित, पारदर्शी र विधिसम्मत बनाउन बित्तीय सुशासनको लेखाजोखा गर्ने गरिएको छ ।
स्थानीय तहको बित्तीय जोखिम मूल्यांक कार्यविधि २०७७ अनुसार मूल्यांकन गर्ने गरिएको छ ।

Leave A Reply

Your email address will not be published.

error: Content is protected !!