बैतडी: बैतडीको पाटन नगरपालिका–८ खोडपेमा मानवीय सहायता स्थल सञ्चालनको लागि पहल थालिएको छ । विपद्को समयमा गरिने खोज, उद्दार तथा राहत व्यवस्थापन कार्यलाई थप प्रभावकारी बनाउने उद्देश्यले यहाँ सहायता स्थल सञ्चालनको तयारी भएको हो ।
सुदूरपश्चिम प्रदेश तीन पहाडी जिल्ला बैतडी, बझाङ र दार्चुलाका नागरिकहरुलाई विपद्को समयमा सहयोग पुर्याउन खोडपेमा मानवीय सहायता स्थल सञ्चालनको लागि तयारी थालिएको जिल्ला विपद् व्यवस्थापन समितिका संयोजक तथा प्रमुख जिल्ला अधिकारी दीर्घराज उपाध्यायले बताउनुभयो । मानवीय सहयता स्थल सञ्चालनको तयारीस्वरुप प्रमुख जिल्ला अधिकारी उपाध्याय नेतृत्वको टोलीलस्थलगत अनुगमन समेत गरेको छ ।
अनुगमनपश्चात प्रजिअ उपाध्यायले भन्नुभयो,“ मानवीय सहायता स्थलको स्थलगत रुपमा अनुगमन गरिएको छ, यसलाई सञ्चालनका लागि गृह मन्त्रालयलाई सिफारिस गर्छौ । ”
सुदूरपश्चिमका बैतडी, बझाङ र दार्चुलाका नागरिकहरुलाई विपद्को समयमा सहयोग पुर्याउन विश्व खाद्य कार्यक्रम अन्र्तगत नेपाल सरकारले दुई बर्ष अघि खोड्पेमा मानवीय सहायता स्थलको स्थापना गरिएको हो । तर केही सामग्री अभाव र प्रक्रियाका कारण उक्त स्थल सञ्चालनमा आउन सकेको छैन् ।
सहायता स्थल सञ्चालनमा ल्याउन केही थप संरचना निर्माण गर्नुपर्ने र त्यसका लागि पहल भइरहेको प्रमुख जिल्ला अधिकारी उपाध्यायले बताउनुभयो । उहाँले भन्नुभयो,“ विपद्को समयमा गरिने खोज,उद्दार तथा राहत व्यवस्थापन कार्यलाई थप प्रभावकारी बनाउने उद्देश्य राखेर मानवीय सहायता स्थल सञ्चालनको लागि पहल थालेका छौं, सहयता स्थल सञ्चालनका लागि जिल्ला प्रशासनले गृहलाई सिफारिस गर्छ । गृहले कसरी सञ्चालन गर्ने भन्ने विषयमा अनुमतीका साथै मोडालिटी दिन्छ होला ।”
सहायता स्थल गोदाम घरजस्तै रहेको र यहाँ चार कन्टेनर छन् । यसभित्र घर बनाउन मिल्ने सामग्री रहेको छ । विपद जहिले जतिबेला पनि आउन सक्ने भएकोले त्यसको पूर्वतयारीका लागि सहयता स्थल कुन अवस्थामा छ ? त्यसको अनुमगन गरिएको प्रजिअ उपाध्यायले बताउनुभयो ।
बैतडीका साथै बझाङ र दार्चुलाका पनि यो पायक पर्ने ठाउँ भएकाले पनि यहाँ सहायता स्थल सञ्चालन हुन आवश्यक रहेको प्रजिअ उपाध्यायको भनाई छ । तीनवटै जिल्लामा चाहिने आवश्यक गोदाम घर,दुई वटा हेलिप्याट रहेको छ । जसले गर्दा हेलिकोप्टरबाट आवश्यक सामग्री ढुवानी गर्न सहज हुनेछ । उहाँले भन्नुभयो,“ विपद्को बेला उद्दार गर्ने सामग्री पनि अभाव छ,राहत सामग्रीका लागि पनि गृहलाई अनुरोध गर्छौ । स्थानीय पालिकाबाट नि सामग्री संकलन गर्न सकिन्छ । ”
मानवीय सहयता स्थलको सुरक्षा प्रवन्ध प्रशासनले गर्ने र सञ्चालन कसरी गर्नेबारे स्थानीयस्तरमा पनि थप छलफल हुने जिल्ला प्रशासन कार्यालय बैतडीले जनाएको छ ।
सरकारले बैतडीसहित देशका चार स्थानमा सहयतास्थल सञ्चालन गर्ने तयारी गरेको हो । बैतडीको खोडपे,जुम्लाको खलंगा,महोत्तरीको बर्दिबास र तेह्रथुमको बसन्तपुरमा सहायता स्थल पूर्ण रुपमा सञ्चालन हुनेछन् ।
