बैतडीमा एचपीभी खोप अभियानबाट १३ हजार किशोरी लाभान्वित

बैतडी:पाठेघरको मुखको क्यान्सरविरुद्धको एचपीभी खोप अभियान बैतडीमा सम्पन्न भएको छ । गत माघ २२ गतदेखि सञ्चालन भएको अभियानमा करिब १३ हजार किशोरी लाभान्वित भएका छन् ।
स्वास्थ्य कार्यालयका सूचना अधिकारी विपिन लेखकका अनुसार अभियानबाट यहाँका १२ हजार ८२८ जना किशोरीहरुले पाठेघरको मुखको क्यान्सरविरुद्धको एचपीभी खोप लगाएका छन् ।
जिल्लाका १३ हजार ५६४ जना किशोरीहरुलाई खोप लगाउने लक्ष्य रहेकोमा लक्ष्यको ९५ प्रतिशतलाई खोप लगाइएको हो ।

अभियान अन्तर्गत १० ओटै पालिकाका खोप केन्द्रहरुमा किशोरीहरुले खोप लगाएका स्वास्थ्य कार्यालय बैतडीका प्रमुख तिर्थराज भट्टले बताउनुभयो ।
खोप अभियान अन्तर्गत कक्षा ६ देखि १० सम्म पढाई हुने २ सय ३८ विद्यालय र ९० स्वास्थ्यचौकीहरुलाई खोप केन्द्र तोकिएको थियो ।

पाठेघरको मुखको क्यान्सरबाट बचाउनका लागि कक्षा ६ देखि १० सम्म अध्ययनरत छात्रा र विद्यालय बाहिर रहेका १० देखि १४ बर्ष उमेर समूहका किशोरीहरुलाई खोप लगाइएको हो ।
अभियान अन्तर्गत दशरथचन्द नगरपालिकामा १ हजार ४७८, मेलौली नगरपालिकामा १ हजार १८३, पाटन नगरपालिकामा १ हजार ६०३ र पुर्चौंडी नगरपालिकामा २ हजार १५६ जना किशोरीहरुलाई एचपीभी खोप लगाइएको स्वास्थ्य कार्यालय बैतडीका खोप सुपरभाइजर निरीक्षक हरिश भट्टले जानकारी दिनुभयो ।

यस्तै पञ्चेश्वर गाउँपालिकामा ९ सय ३५, शिवनाथ गाउँपालिकामा १ हजार, सुर्नया गाउँपालिकामा १ हजार ५४, सिगास गाउँपालिकामा १ हजार १६३, दोगडाकेदार गाउँपालिकामा १ हजार ६७ र डिलाशैनी गाउँपालिकामा १ हजार १८९ जना किशोरीहरुले खोप लगाएका हुन् ।
पाठेघरको मुखमा हुने क्यान्सरको बिरामीको सङ्ख्या र ज्यान गुमाउनेको सङ्ख्या नेपालमा वर्षेनि बढ्दै गएको छ । महिलामा हुने क्यान्सरमध्ये नेपालमा यो पहिलो नम्बरमा र विश्वमा हुने क्यान्सरहरुमा यो चौथो स्थानमा छ ।

विश्व स्वास्थ्य सङ्गठनको सन् २०२० को तथ्याङ्कअनुसार यो क्यान्सर हरेक वर्ष पाँच लाख ७० हजार महिलालाई हुने र सन् २०३० सम्ममा सात लाखसम्म पुग्ने अनुमान गरिएको छ । त्यसैगरी हरेक वर्ष तीन लाख ११ हजार महिलाले यसैका कारण ज्यान गुमाउने र सन् २०३० सम्ममा चार लाख पुग्ने अनुमान गरिएको छ ।

नेपालमा प्रत्येक दिन पाठेघरको मुखको क्यान्सरबाट चार जना महिलाको ज्यान गइरहेको तथ्याङ्क छ । ‘ग्लोबल क्यान्सर अब्जरभेटरी २०२२’ का अनुसार हरेक वर्ष नेपालमा दुई हजार एक सय ६९ जना महिलामा यस्तो क्यान्सर हुने अनुमान गरिएको छ । त्यसैले महिलाहरुमा क्यान्सर रोग लाग्न नदिन खोप अभियान सञ्चालन गरिएको जनाएको छ ।

Leave A Reply

Your email address will not be published.

error: Content is protected !!