भारतद्वारा इंग्ल्याण्डविरुद्धको सिरिज क्लिन स्विप

काठमाडौं:भारतले इंग्ल्याण्डविरुद्धको एकदिवसीय अन्तर्राष्ट्रिय सिरिज क्लिन स्विप गरेको छ । 

अहमदाबादमा भएको अन्तिम खेलमा इंग्ल्याण्डलाई १४२ रनले पराजित गर्दै भारतले एकदिवसीय अन्तर्राष्ट्रिय सिरिज ३-० ले जितेको हो । योसँगै इंग्ल्याण्डको भारत भ्रमण निराशाजनक रूपमा टुंगिएको छ ।

भारतले दिएको ३५७ रनको लक्ष्य पछ्याएको इंग्ल्याण्ड ३४.२ ओभरमा २१४ रनमै अलआउट भयो । इंग्ल्याण्डका लागि टम ब्यान्टनले ३८ रनको योगदान दिए । यस्तै, गस एट्किन्सनले ३८ र  बेन डकेट ३४ रनको योगदान दिए । 

भारतका लागि हार्दिक पाण्ड्या, अक्षर पटेल, अर्शदिप सिंह र हर्षित रानाले समान २-२ विकेट लिँदा कुलदिप यादव र वाशिंटन सुन्दरको नाममा १-१ विकेट रह्यो । 

त्यसअघि पहिले ब्याटिङ गरेको भारतले शुभमन गिलको शतकको मदतमा ३५६ रनको योगफल तयार पारेको थियो ।

भारतका लागि शुभमन गिलले १०२ बलमा ११२ रनको उत्कृष्ट इनिङ्स खेले । यस्तै, श्रेयश अय्यरले ७८ र विराट कोहलीले ५२ रनको योगदान दिए ।

इंग्ल्याण्डका लागि लेग-स्पिनर आदिल रशिदले उत्कृष्ट बलिङ गर्दै ६४ रन खर्चेर ४ विकेट लिए । यस्तै, मार्क उडले २, साकिब महमुद, गस एट्किन्सन र जोय रुटले समान १-१ विकेट लिए ।

भारत भ्रमण इंग्ल्याण्डका प्रशिक्षक ब्रेन्डन म्याकुलमको पहिलो सिरिज थियो । यसअघि टी-२० सिरिजमा पनि इंग्ल्याण्ड भारतसँग ४-१ ले पराजित भएको थियो ।

पाकिस्तानको लाहोरमा २२ फेब्रुअरीमा अस्ट्रेलियाविरुद्ध खेल्दै इंग्ल्याण्डले च्याम्पियन्स ट्रफीको सुरुआत गर्नेछ ।

Leave A Reply

Your email address will not be published.

error: Content is protected !!