बैतडी: बैतडीको दोगडाकेदार गाउँपालिकाका एकल पुरुषले भत्ता पाउने भएका छन् । गाउँपालिकाले एक सूचना जारी गर्दै एकल पुरुषलाई पनि भत्ता जनाएको हो ।
४० बर्षमाथिका विपन्न एकल र विधुर पुरुषलाई भत्ता दिइने गाउँपालिका उपाध्यक्ष पार्वती कार्कीले बताउनुभयो ।
चालु आर्थिक बर्षमा विपन्न एकल पुरुषलाई निर्वाह भत्ता प्रदान गर्नका लागि ५ लाख ४० हजार रुपैयाँ बजेट विनियोजन गरिएको उहाँले बताउनुभयो ।
गाउँपालिकाले भत्ता वितरण प्रयोजनका लागि निवेदन आह्वान गरिसकेको छ । शुक्रबार एक सूचना जारी गर्दै गाउँपालिकाले १५ दिनभित्र निवेदन पेश गर्न आग्रह गरेको छ ।
आर्थिक रुपले विपन्न एकल पुरुषहरुको जिविकोपार्जनमा टेवा पुर्याउनका लागि भत्ता दिने तयारी भएको गाउँपालिका अध्यक्ष चक्र कार्कीले बताउनुभयो ।
४० बर्षमाथिका एकल र बिधुर पुरुषले वडाका सिफारिशसहित सम्बन्धित वडामै निवेदन पेश गर्न सक्ने गाउँपालिकाले जनाएको छ ।
भत्ताका लागि आएका निवेदनहरुबाट छनौट गरेर आर्थिक रुपले विपन्न एकल पुरुषलाई भत्ता दिइनेछ । यसले एकल तथा विधुर पुरुषहरुलाई आफ्नो जिविकोपार्जनमा केही टेवा पुग्ने अपेक्षा गाउँपालिकाको रहेको छ ।
