काठमाडौं:काठमाडौंमा सम्पन्न ललितपुर मेयर्स वुमन्स टी-२० च्याम्पियनसिप २०२४ काे उपाधि एपीएफ क्लबले जितेकाे छ। आज सम्पन्न फाइनल खेलमा सुदूरपश्चिममाथि २ रनकाे राेमाञ्चक जित निकाल्दै एपीएफ च्याम्पियन बन्याे ।
जितका लागि १५६ रनकाे लक्ष्य पछ्याएकाे सुदूरपश्चिमले निर्धारित २० ओभरमा ५ विकेटको क्षतिमा १५३ रन मात्रै बनाउन सक्याे। सुदूरपश्चिमलाई अन्तिम ओभरमा ६ रन चाहिएकाे अवस्थामा एपीएफकी रेखा रावलले ३ रन मात्रै दिएर २ रनकाे राेमाञ्चक जित दिलाइन्।
सुदूरपश्चिमका लागि कविता जाेशीले अविजित ६७ र लक्ष्मी साउदले २९ रन बनाएपनि टाेलीलाई जिताउन सकेनन् । एक समय ४९ रनमा ५ विकेट गुमाएर संकटमा परेकाे सुदूरपश्चिमका लागि कविता र लक्ष्मीले १०४ शतकीय शाझेदारी गर्दै जितनजिक पुर्याए।
एपीएफका लागि करूणा भण्डारीले २ र सुमन विष्टले १ विकेट लिइन् ।
यसअघि त्रिवि क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको एपीएफले ४ विकेट गुमाएर १५५ रन बनायाे।
एपीएफका लागि सीता रानामगरले सर्वाधिक ७४ र राजमति ऐरीले ५० रन बनाइन् ।
सुदूरपश्चिमकी विन्दु रावल, राधिका पुजरा र रितु कनौजियाले एक/एक विकेट लिए ।
