बैतडी:नेपाली कांग्रेसले सञ्चालन गरेको सय दिने बिशेष अभियान अन्तर्गत आज बैतडीको दाेगडाकेदार गाउँपालिकाको पिपलकाेटमा कार्यक्रम सम्पन्न गरिएको छ ।
संगठन निर्माणमा जुटौं, सदभावका साथ अघि बढौं भन्ने मूल नाराका साथ अभियान सञ्चालनमा रहेको नेपाली कांग्रेस बैतडीका सभापति चतुरबहादुर चन्दले बताउनुभयाे।
क्रियाशील सदस्यता वितरण, पालिका तथा वडा सम्मेलनका लागि सहजीकरण, पार्टीको विधानका बारेमा जानकारी दिन, स्थानीय सरकारका कामहरुलाई प्रभावकारी बनाउन, स्थानीय नागरिकका गुनासा सुन्न र सम्बोधनका लागि पहल गर्ने लगायतका उद्देश्य राखेर अभियान सञ्चालन गरिएको सभापति चन्दले बताउनुभयाे ।
कार्यक्रममा अभियानका केन्द्रीय प्रतिनिधि नेपाली कांग्रेसका केन्द्रीय सदस्य आङगेलु शेर्पाले नेपाली कांग्रेसको संगठनलाई सुदृढ बनाउन र कांग्रेसजनका आवाज सुन्न अभियान सञ्चालन गरिएको बताउनुभयाे ।
अभियानले कांग्रेसलाई एकताबद्ध बनाउन सहयोग पुर्याउने जनाएको छ । स्थानीयस्तरमा रहेका कांग्रेसका क्रियाशील सदस्यहरुको धारणा सुनेर पार्टीलाई आगामी योजना बनाउन अभियानले सघाउने केन्द्रीय सदस्य शेर्पाले बताउनुभयाे ।
नेपाली कांग्रेस दाेगडाकेदार गाउँपालिका सभापति नन्दराज भट्टकाे अध्यक्षतामा सम्पन्न कार्यक्रममा नेपाली कांग्रेस बैतडीका उपसभापति वीरबहादुर विष्ट, जिल्ला कोषाध्यक्ष चक्रबहादुर चन्द, महासमिति सदस्य उत्तरबहादुर ऐर, तरूण दलका केन्द्रीय सदस्य घनश्याम भट्टलगायतका नेता कार्यकर्ताहरुको उपस्थिती रहेको थियो ।
जिल्लाको दशरथचन्द नगरपालिका, पाटन नगरपालिका, मेलौली नगरपालिका र सुर्नया,पञ्चेश्वर,डिलाशैनी,शिवनाथ गाउँपालिकामा अभियान अन्तर्गतका कार्यक्रम यसअघि नै सञ्चालन भइसकेका छन्।
माघ १५ गते पुर्चौंडीको तल्लादेही र माघ १६ गते सिगासको गर्जेमा बिशेष अभियान अन्तर्गत कार्यक्रम सम्पन्न हुने नेपाली कांग्रेस बैतडीले जनाएको छ ।
अभियानले नेपाली कांग्रेस एकढिक्का भएर अगाडि बढ्न मद्दत गर्ने विश्वास गरिएको छ।

