बैतडीमा माघ २२ देखि एचपीभी खोप अभियान सञ्चालन हुने

बैतडी: बैतडीमा यही माघ २२ गतेदेखि एचपीभी खोप अभियान सञ्चालन हुने भएकाे छ।

अभियान अन्तरगत यहाँका १३ हजार ५ सय ६४ जना किशोरीहरुलाई पाठेघरको मुखको क्यान्सरविरुद्ध एचपीभी खोप दिइने स्वास्थ्य कार्यालय बैतडीका खोप सुपरभाइजर निरीक्षक हरिश भट्टले जानकारी दिनुभयाे।

अभियानका लागि तयारी तीव्र भइरहेको पारिएकाे छ।

अभियान अन्तर्गत जिल्लाभरीका विद्यालयहरुमा कक्षा ६ देखि १० सम्म अध्ययनरत १३ हजार २६३ जना किशोरी र विद्यालय बाहिर रहेका १० देखि १४ बर्ष सम्मका ३ सय १ जना किशोरी गरेर १३ हजार ५६४ जनालाई एचपीभी खोप दिने तयारी भएको हाे। 

बैतडीमा माध्यमिक तहका २ सय ३८ ओटा विद्यालय र ९० ओटा स्वास्थ्य संस्थाहरुलाई खोप केन्द्र तोकिएको छ । अभियानको अन्तिम दिन स्वास्थ्य संस्थाका खोप केन्द्रहरुमार्फत छुटेका किशोरीहरुलाई खोप दिइने स्वास्थ्य कार्यालय बैतडीका सूचना अधिकारी विपीन लेखकले बताउनुभयाे। 

खोप अभियानलाई प्रभावकारी बनाउनका लागि जिल्लाभरीका स्थानीय तहका स्वास्थ्य शाखा प्रमुख र स्वास्थ्यचौकी प्रमुखहरुलाई तालिम दिइसकिएको छ ।
यस्तै प्रत्येक स्थानीय तहहरुले खोप अभियानलाई प्रभावकारी बनाउन स्थानीयस्तरमा तालिम तथा प्रशिक्षणका कार्यक्रमहरु सञ्चालन गरिरहेको छ। 

यस्तै खोप अभियान सञ्चालनका बेला हुन सक्ने केही अवाञ्छित घटनाहरुलाई व्यवस्थापनका लागि चिकित्सक सहितको टोली तयारी अवस्थामा रहेको खोप सुपरभाइजर निरीक्षक भट्टले जानकारी दिनुभयाे । 

पाठेघरको मुखको क्यान्सरविरुद्ध दिइने एचपीभी खोप पूर्ण सुरक्षित रहेकाले निर्धक्क रुपमा लगाउनुपर्ने जिल्ला अस्पताल बैतडीका प्रमुख डा. सुशील विकले बताउनुभयाे। नेपालमा पाठेघरको मुखको क्यान्सरबाट बर्षेनी महिलाहरुले ज्यान गुमाउनुपर्ने बाध्यता रहेकाले त्यो रोग लाग्नै नदिन खोप अभियान सञ्चालन हुन लागेको हाे । 

यसअघि नमूनाको रुपमा देशभरीका १० हजार जना किशोरीहरुलाई यो खोप दिइसकिएको छ । त्यो बेला यो खोप दुईमात्रा दिइएको भएपनि अभियानका बेला भने एकमात्रा मात्रै खोप दिइने खोप सुपरभाइजर निरीक्षक भट्टले बताउनुभयाे । एकमात्रा खोपले काम गर्ने भएकाले एकमात्रामात्रै दिइनेछ। आगामी बर्षदेखि यो खोपलाई नियमित खोपको रुपमा दिइने समेत जनाइएको छ। 

जिल्लामा सञ्चालन हुने खोप अभियानलाई प्रभावकारी बनाउन सम्बद्ध सबैको सहयोग आवश्यक रहेको जिल्ला खोप समन्वय समितिका संयोजक एवं जिल्ला समन्वय समितिका प्रमुख खगेन्द्रसिंह धामीले बताउनुभयाे।
क्यान्सर जस्तो प्राणघातक रोगबाट बचाउन खोपले काम गर्ने भएकाले लक्षित समूहका सबैलाई खोप अभियान सरीक गराउन सबैले आ–आफ्नो क्षेत्रबाट भूमिका खेल्नुपर्नेमा उनले जोड दिनुभयाे । 

जिल्लाको दशरथचन्द नगरपालिकामा १४ सय ८७, पाटन नगरपालिकामा १५ सय २३, मेलाैली नगरपालिकामा ११ सय ६३ र पूर्चौडी नगरपालिकामा २३ सय ६६ किशोरीलाई खोप लगाइने छ । यस्तै पञ्चेश्वर गाउँपालिकामा ९ सय ९०, शिवनाथ गाउँपालिकामा एक हजार २, सुर्नया गाउँपालिकामा १ हजार ८४, सिगास गाउँपालिकामा ११ सय ६०, डिलाशैनी १३ सय १४ र दोगडाकेदार गाउँपालिकाका ११ सय ७४ किशोरीलाई खोप दिइने स्वास्थ्य कार्यालयले जनाएको छ।

Leave A Reply

Your email address will not be published.

error: Content is protected !!