बैतडी: जेष्ठ नागरिकहरुलाई सम्मान गर्ने उद्देश्यले बैतडीको दशरथचन्द नगरपालिकाले जेष्ठ नागरिकहरुलाई सम्मान र सामग्री वितरण कार्यक्रम सञ्चालन गरिएको छ । नगरपालिकाको महिला, बालबालिका तथा जेष्ठ नागरिक शाखाबाट जेष्ठ नागरिकहरुलाई सम्मान गर्ने कार्यक्रम सञ्चालन गरिएको हो ।
जेष्ठ नागरिकहरुलाई सम्मान गर्ने उद्देश्यले प्रत्येक वडामा पुगेर कार्यक्रम सञ्चालन भइरहेको महिला, बालबालिका तथा जेष्ठ नागरिक शाखा प्रमुख लिला कुँवरले बताउनुभयो । नगर क्षेत्रभित्रका जेष्ठ नागरिकहरुलाई सम्मान र सामग्री वितरण कार्यक्रम सञ्चालन गरिएको छ ।
दशरथचन्द नगरपालिका वडा नं ५ बाट शुरु गरिएको कार्यक्रम नगरका सबै वडामा सञ्चालन गरिने जनाएको छ ।
जेष्ठ नागरिकहरुलाई फाइबर सिरक र थर्मस दिनुका साथै दोसल्ला ओढाएर सम्मान गर्ने गरिएको दशरथचन्द नगरपालिकाकी उपप्रमुख कौशिला चन्दले बताउनुभयो । उहाँले भन्नुभयो,“ जेष्ठ नागरिकलाई स्थानीय सरकारको आभाष दिलाउनका लागि कार्यक्रम सञ्चालनमा ल्याएका हौैैं । गाउँमै पुगेर प्रत्येक वडाका जेष्ठ नागरिकहरुलाई सम्मान गरिरहेका छौं । ”
वडाको जनसंख्या हेरर सानो वडामा ९ जना र ठूलो वडामा ११ जनालाई सम्मान गर्ने कार्यक्रम रहेको छ ।
८५ वर्षमाथिका जेष्ठ नागरिक नभएका वडामा त्यो भन्दा कम उमेरका जेष्ठ नागरिकहरुलाई सम्मानका साथै सामग्री वितरण गरिने दशरथचन्द नगरपालिकाको महिला, बालबालिका तथा जेष्ठ नागरिक शाखा प्रमुख कुँवरले बताउनुभयो ।
नगर सरकारकातर्फबाट जेष्ठ नागरिकलाई सम्मान गर्न र चिसोबाट बच्न यो कार्यक्रम सञ्चालन गरेको बताउँदै उपप्रमुख चन्दले आगामी दिनमा जेष्ठ नागरिकहरुका लागि थप कार्यक्रम सञ्चालन गर्ने बताउनुभयो । उहाँले भन्नुभयो,“हामीले जेष्ठ नागरिकहरुलाई सम्मान गर्न र जेष्ठ नागरिकप्रति सम्मान संस्कृति बसाउन यो कार्यक्रम सञ्चालन गरेका हौं । आगामी दिनमा अन्य कार्यक्रम पनि सञ्चालन गर्छौ । ”
जेष्ठ नागरिक सम्मान कार्यक्रम अन्र्तगत ११० जनालाई सम्मान गरिनेछ । जसमा दलित,गैरदलित,गरिब,विपन्न सबै समेटिने दशरथचन्द नगरपालिकाले जनाएको छ ।
