बैतडी:
सुदूरपश्चिम प्रदेशका थप दुई खेलाडीले मासिक रुपमा तलब पाउने भएका छन् । सुदूरपश्चिम प्रादेशिक क्रिकेट संघले प्रदेशबाट नियमित रुपमा राष्ट्रिय प्रतियोगिता खेलिरहेका एक महिला र एक पुरुष खेलाडीलाई मासिक १५ हजारका दरले प्रोत्साहन रकम दिने भएको हो ।
मासिक रुपमा प्रोत्साहन रकम पाउनेमा बैतडीका दीपक बोहरा र बझाङकी अनु कडायत रहेकी सुदूरपश्चिम प्रादेशिक क्रिकेट संघका अध्यक्ष बाशुदेव जोशीले जानकारी दिनुभयो । एमबी ग्रुप डडेल्धुराको प्रायोजनमा दुबै खेलाडीलाई मासिक रुपमा प्रोत्साहन रकम पाउनेछन् । डिसेम्बर १ तारिखदेखि लागू हुने गरि दुबै खेलाडीलाई मासिक रुपमा प्रोत्साहन रकम दिने गरि प्रायोजन सम्झौता भएको एमबी ग्रुपका प्रवन्धक बाशु जोशीले बताउनुभयो ।
सम्झौताभएसंगै एमबी ग्रुपले एक वर्षसम्म दीपक र अनुलाई मासिक रुपमा १५ हजारका दरले प्रोत्साहन रकम प्रदान गर्नेछ ।
दीपक र अनुले सुदूरपश्चिमबाट थुप्रै राष्ट्रिय प्रतियोगिता खेल्नुका साथै उमेर समूहका अन्र्तराष्ट्रिय प्रतियोगितामा नेपाली राष्ट्रिय टोलीबाट पनि सहभागिता जनाइकेका छन् ।
प्रादेशिक क्रिकेट संघले निकट भविष्यमै अन्य खेलाडीलाई पनि प्रोत्साहन भत्ता दिने तयारी गरेको छ ।
यसअघि नेपाल क्रिकेट संघ क्यानबाट मासिक रुपमा सुदूरपश्चिम प्रदेशका पाँच खेलाडी प्रोत्साहन रकम पाउनका छनौट भएका थिए । सुदूरपश्चिम प्रादेशिक क्रिकेट संघले तीन पुरुष र दुई महिला गरि पाँच खेलाडीलाई छनौट गरेको हो ।
छनौट हुने पुरुष खेलाडीहरुमा खडक बोहरा, किरन ठगुन्ना,शेर मल्ल र महिला खेलाडीहरुमा सावित्री धामी, स्नेहा महरा रहेका छन् ।
