बैतडी:
बैतडीका महिला स्वास्थ्य स्वयंसेविकाहरुलाई प्रोत्साहन भत्ता र निशुल्क उपचार पाउने भएका छन् । यहाँको पुर्चौडी नगरपालिकाले महिला स्वास्थ्य स्वयंसेविकाहरुलाई वार्षिक १२ हजार रुपैयाँ प्रोत्साहन भत्ता दिने भएको छ ।
नगरपालिकाभित्र रहेका १ सय २६ जना महिला स्वास्थ्य स्वयंसेविकाहरुलाई १२ हजार रुपैयाँका दरले प्रोत्साहन भत्ता उपलब्ध गराउने निर्णय भएको नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख सुरेन्द्र अवस्थीले जानकारी दिनुभयो । यसअघि दिँदै आएको प्रोत्साहन भत्तामा रकम थपेर यो बर्षदेखि १२ हजार रुपैयाँ प्रोत्साहन भत्ता उपलब्ध गराउने निर्णय भएको हो ।
महिला स्वास्थ्य स्वयंसेविकाहरुलाई आर्थिक वर्षको अन्त्यतिर प्रोत्साहन भत्ता उपलब्ध गराइने पुर्चौडी नगरपालिकाका प्रमुख दीपकबहादुर बमले बताउनुभयो ।
महिला स्वास्थ्य स्वयंसेविकाहरुले स्वास्थ्यको क्षेत्रमा गरिरहेको कामको कदर गर्दै उनीहरुलाई निशुल्क उपचार सेवा उपलब्ध गराउने निर्णय पनि भएको पुर्चौडी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत जगदीशप्रसाद जोशीले बताउनुभयो ।
पुर्चौडी नगरपालिकाको हाट स्वास्थ्यचौकीमा महिला स्वास्थ्य स्वयंसेविकाहरुलाई एक्सरे, अल्ट्रासाउण्ड, इसिजी र प्रयोगशाला सेवा निशुल्क उपलब्ध गराइने भएको हो ।
महिला स्वास्थ्य स्वयंसेविकाहरुले नागरिकको आधारभूत स्वास्थ्य सेवामा पुर्याएको योगदानको कदर गर्दै प्रोत्साहन भत्ता उपलब्ध गराउने निर्णय भएको नगरपालिकाले जनाएको छ ।
यस्तै जिल्लाको दोगडाकेदार गाउँपालिकाले महिला स्वास्थ्य स्वयंसेविकाहरुलाई प्रोत्साहन रकम वितरण गरेको छ । गाउँपालिकाभित्रका ८७ जना महिला स्वास्थ्य स्वयंसेविकाहरुलाई प्रतिव्यक्ति ८ हजारका दरले प्रोत्साहन भत्ता वितरण गरिएको गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख नरेन्द्र नाथले जानकारी दिनुभयो । गाउँपालिकाभित्र रहेका ८७ जना महिला स्वास्थ्य स्वयंसेविकाहरुलाई ६ लाख ९६ हजार रुपैयाँ प्रोत्साहन रकम वितरण गरिएको हो ।
गाउँपालिकाबासीहरुको आधारभूत स्वास्थ्य सेवामा पहुँच पुर्याउन महिला स्वास्थ्य स्वयंसेविकाहरुले खेलेको भूमिका महत्वपूर्ण रहेकाले उनीहरुको कामको सम्मान गर्दै नगदसहित सम्मान गरिएको गाउँपालिकाकी उपाध्यक्ष पार्वती कार्कीले बताउनुभयो ।
महिला स्वास्थ्य स्वयंसेविकाहरुले स्वास्थ्य क्षेत्रमा पुर्याएको योगदानको कदर गर्दै आगामी वर्षदेखि प्रोत्साहन रकम थप्ने योजना रहेको गाउँपालिकाले जनाएको छ ।
महिला स्वास्थ्य स्वयंसेविकाहरुले स्वास्थ्यको क्षेत्रमा पुर्याएको योगदान अतुलनीय रहेकाले पालिकाकातर्फबाट प्रोत्साहन रकम दिने गरिएको गाउँपालिका अध्यक्ष चक्रबहादुर कार्कीले बताउनुभयो ।
