काठमाडौं: नेपाल प्रिमियर लिग (एनपीएल) मा सुदूरपश्चिम राेयल्सले शानदार जित निकालेकाे छ। सुखद सुरूवात गर्ने क्रममा सुदूरपश्चिमले विराटनगर किङसलाई ९० रनले हरायाे।
जितका लागि पाएकाे १८३ रनकाे विशाल लक्ष्य पछ्याएकाे विराटनगर १६.१ ओभरमा ९२ रनमा अलआउट भयाे ।
विराटनगर प्रतियोगिताकै न्यून स्काेरमा समेटियो ।
उसका बसिर अहमदले २४ र राजेश पुलामीले १५ रन जाेडे।
सुदूरपश्चिमका अभिनाश बाेहराले ३ विकेट झारे।
यसअघि कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङ गरेकाे सुदूरपश्चिमले निर्धारित २० ओभरमा ७ विकेटको क्षतिमा १८२ रन बनायाे। याे स्काेर जारी प्रतियोगिताकै उच्च हाे। यसअघि कर्णालीले १४१ रन बनाएकाे थियोे ।
सुदूरले अन्तिम ओभरमा २३ रन जाेड्याे।
जसमा कप्तान दीपेन्द्र सिंह ऐरीले अर्धशतकीय पारी खेल्दै २३ बलमा अविजित ५७ रन बनाए।
दीपेन्द्र एनपीएलमा अर्धशतक हिर्काउने दाेस्राे नेपाली खेलाडी पनि बने । साथै ऐरीले २२ बलमा अर्धशतक हिर्काउदै छिटो अर्धशतक प्रहार गर्ने पहिलाे खेलाडीकाे रेकर्ड पनि बनाए।
यसअघि जनकपुरका कप्तान अनिल शाहले पनि अर्धशतक जाेडेका थिए।
विराटनगरका अनिल खरेलले ३ विकेट हात पारे।
सन्दीप लामिछानेकाे कप्तानीमा रहेकाे विराटनगरकाे याे दाेस्राे हार हाे। यसअघि जनकपुर बाेल्ट्ससंग ८ विकेटले पराजित भएकाे थियाे।
नेपाल क्रिकेट संघ (क्यान) को आयोजनामा मंसिर १५ देखि सुरू भएको प्रतियोगिता पुस छ गते सम्पन्न हुनेछ ।
