बैतडी: बैतडीमा जारी २१ औं संस्करणको रेडियन्ट ग्याँस बिडिसिए कप एकदिवसीय क्रिकेट प्रतियोगिताकाे प्लेट च्याम्पियनसिपकाे उपाधिका लागि पञ्चकाेटी युवा क्लब र ग्वाल्लेक क्रिकेट क्लब भिडने भएका छन्।
आज सम्पन्न दाेस्राे सेमिफाइनलमा कैलपाल उदयदेव युवा क्लबलाई ७४ रनले पाखा लगाउदै पञ्चकाेटीले ग्वाल्लेकसंगकाे उपाधि भेट पक्का गर्याे।
जितका लागि पाएकाे १९८ रनकाे लक्ष्य पछ्याएकाे कैलपाल १७.४ ओभरमा १२३ रनमा समेटियो । उसका राजु भाटले ४२ रनकाे याेगदान गरेपनि टाेलिलाई जिताउन सकेनन् ।
पञ्चकाेटीका उमेश बुडाल र कैलाश बुडालले ३/३ विकेट हात पारे।
त्यसअघि दशरथचन्द खेलमैदान,सुन्दरखालीमा पहिला ब्याटिङ गरेकाे पञ्चकाेटीले निर्धारित २५ ओभरमा ५ विकेटको क्षतिमा १९७ रन बनायाे।
जसमा सुदीप कार्की र जीवन कार्कीले अर्धशतकीय पारी खेले । म्यान अफ द म्याच भएका सुदीप ९३ र जीवन ६५ रनमा आउट भए।
कैलपालका अमर चन्द र किशाेर भाटले १/१ विकेट लिए।
प्रतियोगिताकाे उपाधि भिडन्त मंगलबार हुनेछ।
उपाधि जित्ने टाेली इलाइट च्याम्पियनसिपका लागि छनाैट हुने बैतडी जिल्ला क्रिकेट संघका अध्यक्ष विनाेद बहादुर चन्दले जानकारी दिनुभयाे।
बैतडी जिल्ला क्रिकेट संघको आयोजनामा सञ्चालित प्रतियोगिता प्लेट र इलाइट च्याम्पियनसिप गरेर दुई चरणमा भइरहेको हाे।
मंसिर ११ गतेदेखि जारी प्रतियोगितालाई प्रधानमन्त्री कप एकदिवसीय क्रिकेट छनौट प्रतियोगिताको रूपमा समेत लिइएको छ ।
