बैतडी: बैतडीमा जारी २१ औं संस्करणको रेडियन्ट ग्याँस बिडिसिए कप एकदिवसीय क्रिकेट प्रतियोगितामा आज सम्पन्न खेलबाट पञ्चकाेटी युवा क्लब सेमिफाइनलमा प्रवेश गरेकाे छ। थालिगाडा क्रिकेट क्लबलाई ७ विकेटले पराजित गर्दै पञ्चकाेटी अन्तिम चारमा सुरक्षित भएको हाे।
जितका लागि पाएकाे १९२ रनकाे लक्ष्य पञ्चकाेटीले २१.५ ओभरमा ३ विकेटको क्षतिमा भेट्टायाे। जसमा जीवन कार्की र सुदीप कार्कीले अर्धशतकीय पारी खेले । जीवनले ५९ र सुदीप ५७ रनमा अविजित रहे। यस्तै उमेश सिंह बुडालले नटआउट ४६ रन हिर्काए।थालिगाडाका साैरभ चन्दले २ र जितेन्द्र रावलले १ विकेट झारे।
यसअघि दशरथचन्द क्रिकेट मैदान सुन्दरखालीमा पहिला ब्याटिङ गरेकाे थालिगाडाले २५ ओभरमा ८ विकेटको क्षतिमा १९१ रन बनायाे।
उसका अमन तिरूवाले सर्वाधिक ४६ रनकाे याेगदान गरेपनि जित निकाल्न असफल हुँदा थालिगडा लिग चरणबाटै घर फर्किन बाध्य भयाे।
पञ्चकाेटीका जीवन कार्कीले ४ विकेट हात पार्दै म्यान अफ द म्याच समेत भए ।
बैतडी जिल्ला क्रिकेट संघको आयोजनामा मंसिर ११ गतेदेखि जारी प्रतियोगितालाई प्रधानमन्त्री कप एकदिवसीय क्रिकेट छनौट प्रतियोगिताको रूपमा समेत लिइएको छ ।

