रेडियन्ट ग्याँस बिडिसिए कपः कालाशैनी सेमिफाइनलमा,पाटन बाहिरियो

बैतडी:
बैतडीमा जारी २१ औं संस्करणको रेडियन्ट ग्याँस बिडिसिए कप एकदिवसीय क्रिकेट प्रतियोगिता अन्र्तगत आज भएको खेलबाट कालाशैनी क्रिकेट क्लब सेमिफाइनलमा प्रवेश गरेको छ । पाटन क्रिकेट क्लबलाई ३२ रनले पराजित गर्दै कालाशैनी समूह ए को विजेता बन्दै अन्तिम चारमा सुरक्षित भएको हो ।

जितका लागि पाएको १६६ रनको लक्ष्य पछ्याएको पाटनले २४ दशमलब १ ओभरमा १३३ रनमा अलआउट भयो । पाटनका लागि लक्ष्मण कार्कीले सर्वाधिक ६७ रनको योगदान गरेपनि टोलीलाई जिताउन सकेनन् । कालाशैनीका लागि सुमित चन्दले ३ विकेट झारे ।

यसअघि दशरथचन्द क्रिकेट मैदान सुन्दरखालीमा पहिला ब्याटिंग गरेको कालाशैनीले ७ विकेटको क्षतीमा १६५ रन बनायो । जसमा निखिल थापाले ५५ रन हिर्काए । निखिल प्लेयर अफ द म्याच समेत भए ।
पाटनका किरन चन्दले ३ विकेट लिए ।

पाटन यो हारसंगै प्रतियोगिताबाट बाहिरिएको स्कोरर अनिलकुमार विष्टले जानकारी दिनुभयो ।

बैतडी जिल्ला क्रिकेट संघको आयोजना सञ्चालित प्रतियोगितालाई प्रधानमन्त्री कप एकदिवसीय क्रिकेट छनौट प्रतियोगिताको रूपमा समेत लिइएको छ ।
मंसिर ११ गतेदेखि सुरु भएको प्रतियोगिता मंसिर ३० गतेसम्म चल्ने बैतडी जिल्ला क्रिकेट संघका अध्यक्ष विनोदबहादुर चन्दले जानकारी दिनुभयो ।

दुई चरणमा हुने प्रतियोगितामा पहिलो चरणमा हाल प्लेट च्याम्पियनसिपका खेलहरु भइरहेका हुन् ।
प्लेट च्याम्पियनसिप सम्पन्न पश्चात मंसिर २० देखि इलाइट च्याम्पियनसिपका खेलहरू सञ्चालन हुने बैतडी जिल्ला क्रिकेट संघका सचिव सिद्धराज बोकटीले जानकारी दिनुभयो ।

यो प्रतियोगिता पहिलोपटक टर्फ पिचमा भइरहेको छ । नेपाल क्रिकेट संघको सहयोगमा दशरथचन्द खेलमैदान,सुन्दरखालीमा टर्फ पिच निर्माण गरिएको हो ।

प्रतियोगिताको प्रथम पुरस्कार १ लाख,द्वितीय पुरस्कार ५० हजार र प्लेट च्याम्पियन हुने टोलीलाई २५ हजार, म्यान अफ द सिरिजलाई १५ हजार पुरस्कार दिइनेछ ।

Leave A Reply

Your email address will not be published.

error: Content is protected !!