बैतडी:
बैतडीको दोगडाकेदार गाउँपालिकामा फोन र ईन्टरनेटको समस्या रहेको छ । गाउँपालिकाको केन्द्रलगायतका यहाँका अधिकांस वडाका ईन्टरनेटको समस्या रहेको छ ।
यहाँ नेपाल टेलिकमले फोरजी सेवा बिस्तार गरेपनि काम नगरेको स्थानीय बासिन्दाको आरोप रहेको छ । फोरजी नेटवर्कले काम नगर्दा गाउँपालिकाका साथै यहाँका बैंक तथा वित्तिय संघसंस्थालाई समस्या भएको छ । यसका साथै फोरजी नेटकर्वले काम नगर्दा स्थानीय बासिन्दा समेत आजित भएका छन् ।
ग्लोबल आइएमई बैंक खोचलेक शाखाका प्रवन्धक लिलाधर भट्टले इन्टरनेटले काम नगर्दा निकै समस्या भएको बताउनुभयो । उहाँले भन्नुभयो,“टेलिकमको फोरजी नेटवर्क काम गर्दैन्,यसले काममा निकै बाधा पुग्ने गरेको छ । फोनको नेटवर्क पनि कम काम गर्छ । ”
फोरजी सेवाले काम नगर्दा दोगडाकेदार गाउँपालिका र यहाँका बासिन्दाले एफटीटीएच सेवा ‘एनटी फाइबर’ बिस्तार गर्न माग गरेका छन् । एनटी फाइबर सेवा सस्तो र सुलभ पनि रहेको छ ।
एनटी फाइबर सेवा बिस्तार नहुँदा गाउँपालिकाले महंगो रुपमा नीजि कम्पनीको वाईफाई जडान गरेर काम गर्न बाध्य भएको प्रमुख प्रशासकीय अधिकृत रविन्द्र धामीले बताउनुभयो । उहाँले भन्नुभयो,“ हाल महंगो शुल्क तिरेर नीजि कम्पनीको वाईफाई जडान गरेर काम गरिरहेका छौं, एनटी फाइबर सेवा बिस्तार भएपछि उक्त बाध्यता हट्ने थियो ।”
नेपाल टेलिकमको एनटी फाइबर बिस्तारका लागि दोगडाकेदार गाउँपालिकाले पहल गरेको भएपनि कुनै सुनुवाई भएको छैन् । गाउँपालिकाले टेलिकमलाई लिखित रुपमै एनटी फाइबार बिस्तारका लागि पत्र पठाएको भएपनि हालसम्म कुनै जानकारी नआएको दोगडाकेदार गाउँपालिकाका सूचना प्रविधि अधिकृत जनकबहादुर विष्टले बताउनुभयो ।
उक्त सेवा बिस्तारका लागि स्थानीय बासिन्दाले हस्ताक्षरसहित बुझाएको भएपनि टेलिकमले कुनै चासो देखाएको छैन्। उहाँले भन्नुभयो,“ गाउँपालिकाको तर्फबाट लिखित रुपमै स्थानीयको हस्ताक्षरसहित टेलिकमलाई पत्र पठाएको १ वर्ष भइसकेको छ । तर हालसम्म पनि एनटी फाइबर बिस्तारबारे कुनै जानकारी आएको छैन् । ”
यता नेपाल टेलिकम सुदूरपश्चिम प्रादेशिक कार्यालय अत्तरियाका सहायक प्राविधिक अधिकृत गोविन्द अवस्थीले दोगडाकेदारमा एनटी फाइबर बिस्तारका लागि बजेटको कमी भएको बताउनुभयो ।
उहाँले भन्नुभयो,“ दोगडाकेदारमा एनटी फाइबर बिस्तारका लागि पहल भएको छ । तर हाम्रो बजेटले सबै काम गर्न सम्भव हुँदैन्, थप बजेटका लागि माथि भनेका छौं । स्थानीय सरकारले पनि यहाँ आर्थिक सहयोग गर्यो भने सहज हुन्छ । ”
एनटी फाइबर बिस्तारपछि ग्राहकले अत्याधुनिक प्रविधि प्रयोग गरी एउटै तारबाट एचडी गुणस्तरयुक्त आवाजसहितको टेलिफोन, तीव्र गतिको इन्टरनेट र टेलिभिजन सेवा पनि प्रयोग गर्न सक्छन् ।