सुदूरपश्चिमका पाँच खेलाडीले नेपाल क्रिकेट संघबाट तलब पाउने

बैतडी: नेपाल क्रिकेट संघ (क्यान)बाट मासिक रुपमा तलब पाउने सुदूरपश्चिम प्रदेशका पाँच खेलाडी छनौट भएका छन् । सुदूरपश्चिम प्रादेशिक क्रिकेट संघले तीन पुरुष र दुई महिला गरि पाँच खेलाडीलाई छनौट गरेको हो ।

छनौट हुने पुरुष खेलाडीहरुमा खडक बोहरा, किरन ठगुन्ना,शेर मल्ल र महिला खेलाडीहरुमा सावित्री धामी, स्नेहा महरा रहेका सुदूरपश्चिम प्रादेशिक क्रिकेट संघका सचिव लक्ष्मणदत्त भट्टले जानकारी दिनुभयो ।

नेपाल क्रिकेट संघले दिएको मापदण्डअनुसार खेलाडी छनौट गरिएको जनाएको छ । छनौट भएका खेलाडीहरुले मासिक रुपमा १५ हजार तलब पाउनेछन् ।

क्यानले यसअघि नै प्रत्येक प्रदेशबाट उत्कृष्ट प्रदर्शन गरेका ५ खेलाडीलाई प्रोत्साहन स्वरुप जनही १५ हजार दिने गरेर बजेट निकासा गरिसकेको छ । खेलाडी छनौटको जिम्मा प्रदेशहरुलाई दिएको र सोहीअनुसार नै यहाँबाट पनि ५ खेलाडी छनौट भएका सुदूरपश्चिम प्रादेशिक क्रिकेट संघका कार्यालय सचिव अनिलकुमार विष्टले बताउनुभयो ।

३० वर्ष ननाघेको नियमित रुपमा प्रदेशको टिममा खेल्दै आएको, भविष्यमा पनि प्रदेशको टिममा योगदान दिनसक्ने खेलाडी हुनुपर्नेलगायतका मापदण्डका रहेका थिए ।

बैतडी घर भएका खडक बोहराले उमेर समूहबाट नेपाली राष्ट्रिय टोलीबाट अन्तराष्ट्रिय प्रतियोगिता खेलिसकेका छन् । खडक प्रदेश टिमबाट नियमित रुपमा राष्ट्रिय प्रतियोगिता खेल्दै आएका छन् । खडक नेपाल प्रिमियर लिग एनपीएलको पहिलो संस्करणका लागि सुदूरपश्चिम रोयल्समा अनुबन्ध भएका छन् ।

एनपीएलका लागि पोखरा एभेन्चरमा आवद्ध किरन कञ्चनपुरका खेलाडी हुन् । सुदूरपश्चिम टिमबाट राष्ट्रियस्तरका प्रतियोगितामा समावेश हुँदै आएका किरन नेपालको ए टिमका खेलाडी पनि हुन् ।

सुदूरपश्चिम प्रदेशबाट राष्ट्रिय प्रतियोगिता खेल्दै आएका शेर कैलालीका हुन् । एनपीएलका लागि जनकपुर बोल्ट्समा अनुबन्ध भएका शेर पनि नेपालको ए टिमबाट खेलिसकेका खेलाडी हुन् ।

कञ्चनपुर घर भएकी सावित्री र कैलाली घर भएकी स्नेहा यु १९ महिला विश्वकपका लागि छनौट भएको नेपाली टोलीका सदस्य हुन् । यी दुबैले सुदूरपश्चिमको टोलीबाट राष्ट्रियस्तरका प्रतियोगिता समेत खेल्दै आएका छन् ।

यसका साथै सुदूरपश्चिम प्रादेशिक क्रिकेट संघले पनि उत्कृष्ट प्रदर्शन गर्दै आएका अन्य खेलाडीलाई पनि प्रोत्साहन स्वरुप तलब दिने तयारी गरेको छ । प्रादेशिक क्रिकेट संघका अध्यक्ष बाशुदेव जोशीका अनुसार प्रदेशका १० देखि १५ खेलाडीलाई थप तलबको व्यवस्था गरिने बताउनुभयो । उहाँले भन्नुभयो,“ महिला र पुरुष खेलाडी गरेर हामीले आफ्नै स्रोतबाट १० देखि १५ खेलाडीलाई तलब दिने योजना बनाएका छौं,खेलाडी वर्गीकरण गरेर कम्तीमा १० हजार मासिक तलबको व्यवस्था गर्छौं ।”

क्रिकेटमै भविष्य खोजिरहेका खेलाडीहरुलाई प्रोत्साहन स्वरुप तलबको व्यवस्था गरिएको नेपाल क्रिकेट संघ क्यानका अध्यक्ष चतुरबहादुर चन्दले बताउनुभयो ।

यसैबीच सुदूरपश्चिम प्रादेशिक क्रिकेट संघको क्रिकेट विकास अधिकृतमा राजेन्द्र चन्द नियुक्त हुनुभएको छ ।

Oplus_131072

Oplus_131072

Leave A Reply

Your email address will not be published.

error: Content is protected !!