रेडियन्ट ग्याँस बिडिसिए कप क्रिकेट सुरु,उद्घाटनमा कालाशैनी विजयी

बैतडी:
२१ औं संस्करणको रेडियन्ट ग्याँस बिडिसिए कप एकदिवसीय क्रिकेट प्रतियोगिता २०८१ आजदेखि सुरू भएकाे छ ।
दशरथचन्द क्रिकेट मैदान सुन्दरखालीमा सुरू भएकाे प्रतियोगिताकाे एक कार्यक्रमकाबीच दशरथचन्द नगरपालिकाका प्रमुख पुस्करराज जाेशीले उद्घाटन गर्नुभयाे।

उद्घाटन समाराेहपश्चात् भएकाे पहिलाे खेलमा महारूद्र क्रिकेट क्लबलाई १२७ रनले पराजित गर्दै कालाशैनी क्रिकेट क्लबले विजयी सुरूवात गरेकाे छ।

पहिला ब्याटिङ गरेकाे कालाशैनीले निर्धारित २५ ओभरमा ९ विकेटको क्षतिमा २१६ रन बनायाे।

जसमा सन्ताेष चन्दले सर्वाधिक ३८ रन जाेडे।
महारूद्रका राजेश भाटले ३ विकेट हात पारे।

जवाफमा महारूद्र १७.५ ओभरमा ८९ रनमा अलआउट भयाे। उसका सुरेश भाटले सबैभन्दा बढी १९ रन हिर्काए।
कालाशैनीका सन्ताेष चन्द र निखिल थापाले ३/३ विकेट हात पारे। सन्ताेष म्यान अफ द म्याच भए।

बैतडी जिल्ला क्रिकेट संघको आयोजना सञ्चालित प्रतियोगितालाई प्रधानमन्त्री कप एकदिवसीय क्रिकेट छनौट प्रतियोगिताको रूपमा समेत लिइएको छ ।

मंसिर ३० गतेसम्म चल्ने प्रतियोगिता प्लेट र इलाइट च्याम्पियनसिप गरेर दुई चरणमा गरेर सञ्चालन हुने बैतडी जिल्ला क्रिकेट संघका सचिव सिद्धराज बोकटीले जानकारी दिनुभयो ।
पहिलो चरणमा मंगलबारदेखि प्लेट र मंसिर २० देखि इलाइट च्याम्पियनसिपका खेलहरू सञ्चालन हुनेछन् ।

प्लेट च्याम्पियनसीपमा सहभागी हुने ११ टोली रहेका छन् । प्लेट च्याम्पियनसिपको विजेता टोली इलाइट च्याम्पियनसिपका लागि छनौट हुनेछ ।

गत संस्करणमा सेमिफाइनल पुगेका चार टोली र यो वर्षको प्लेट च्याम्पियनसिपको विजेता टिम इलाइट च्याम्पियनसिपमा भिड्ने बैतडी जिल्ला क्रिकेट संघका अध्यक्ष विनोदबहादुर चन्दले जानकारी दिनुभयो ।

निङलाशैनी क्रिकेट क्लब,दशरथचन्द क्रिकेट एकेडेमी, त्रिपुरा क्रिकेट क्लब र एनआरवाईसी टिम गत वर्ष सेमिफाइनलमा पुगेका थिए ।
मंसिर २० गतेदेखि सुरू हुने इलाइट च्याम्पियनसिपको पहिलो खेलमा त्रिपुरा र प्लेट च्याम्पियनबीच भिडन्त हुनेछ ।

प्रतियोगिताका शिर्ष दुई टोली मंसिर ३० गते उपाधिका लागि भिड्नेछन् ।

यो प्रतियोगिता पहिलोपटक टर्फ पिचमा हुनेछ ।
नेपाल क्रिकेट संघको सहयोगमा दशरथचन्द खेलमैदान,सुन्दरखालीमा टर्फ पिच निर्माण गरिएको हो ।

बैतडी जिल्ला क्रिकेट संघले गत वर्षदेखि ओडिआई फरम्याटमा प्रतियोगिता सञ्चालन गरिरहेको छ ।

प्रतियोगिताको प्रथम पुरस्कार १ लाख,द्वितीय पुरस्कार ५० हजार र प्लेट च्याम्पियन हुने टोलीलाई २५ हजार, म्यान अफ द सिरिजलाई १५ हजार पुरस्कार दिइनेछ ।

प्रतियोगिताको मुख्य प्रायोजक रोयल मल्टिलुक कन्सर्न (रेडियन्ट ग्याँस) रहेको छ । यस्तै प्रायोजकमा पेप्सी,सहप्रायोजकमा नवजीवन सहकारी, लिटिल बुद्ध एकेडमी,पद्मा हस्पिटल र जिल्लाका दशवटै पालिकाहरु रहेका छन् ।

गत वर्ष सम्पन्न २० औं संस्करणको बिडिसिए कप जिल्लास्तरीय एकदिवसीय क्रिकेट प्रतियोगिताको उपाधि निङलाशैनी क्रिकेट क्लबले जितेको थियो ।

खेलाडीहरू उत्पादन र क्षमता अभिबृद्धिका जिल्लास्तरबाटै प्लेट र इलाइट च्याम्पियनसिपको आयोजना गरिएको नेपाल क्रिकेट संघ क्यानका अध्यक्ष चतुरबहादुर चन्दले बताउनुभयो ।

Leave A Reply

Your email address will not be published.

error: Content is protected !!