रेडियन्ट ग्याँस बिडिसिए कप क्रिकेट दुई चरणमा हुँदै

बैतडी: २१ औं संस्करणको रेडियन्ट ग्याँस बिडिसिए कप एकदिवसीय क्रिकेट प्रतियोगिता २०८१ को तयारी अन्तिम चरणमा पुगेको छ ।

यही मंसिर ११ गतेदेखि हुने प्रतियोगिता मंसिर ३० गतेसम्म चल्नेछ ।

बैतडी जिल्ला क्रिकेट संघको आयोजना हुन लागेको यो प्रतियोगितालाई प्रधानमन्त्री कप एकदिवसीय क्रिकेट छनौट प्रतियोगिताको रूपमा समेत लिइएको छ ।

प्रतियोगिता प्लेट र इलाइट च्याम्पियनसिप गरेर दुई चरणमा गरेर सञ्चालन हुने बैतडी जिल्ला क्रिकेट संघका सचिव सिद्धराज बोकटीले जानकारी दिनुभयो ।
पहिलो चरणमा मंसिर ११ देखि प्लेट र मंसिर २० देखि इलाइट च्याम्पियनसिपका खेलहरू सञ्चालन हुनेछन् ।

प्लेट च्याम्पियनसीपमा सहभागी हुने ११ टोलीलाई ४ समूहमा विभाजन गरिएको छ ।

समूह ए मा कालाशैनी,महारूद्र र पाटन क्रिकेट क्लब, समूह बी मा पञ्चकोटी, बर्तोली र थालिगडा, समूह सी मा ग्वाल्लेक र गिरेगडा, समूह डी मा यौङगस्टार, कैलपाल र पाटन भ्याली रहेका छन् ।
मंसिर ११ गतेदेखि शुरू हुने प्रतियोगिताको उद्घाटन खेलमा कालाशैनी र महारूद्र भिड्नेछन् । मंसिर १२ गते पहिलो खेलमा पञ्चकोटी र बर्तोली भिड्दा दोस्रोमा महारूद्र र पाटन क्रिकेट क्लब आमने सामने हुनेछन् ।

मंसिर १३ गते पहिलो खेलमा बर्तोली र थालिगडा तथा दोस्रोमा पाटन क्रिकेट क्लब र कालाशैनी,मंसिर १४ गते पहिलोमा पञ्चकोटी र थालिगडा तथा दोस्रोमा पाटन भ्याली र यौंगस्टार,मंसिर १५ गते यौंगस्टार र कैलपाल तथा ग्वाल्लेक र गिरेगडा,मंसिर १६ गते कैलपाल र पाटन भ्याली तथा ग्वाल्लेक र गिरेगडा प्रतिस्पर्धा गर्नेछन् ।

मंसिर १७ गते समूह ए र समूह सी को विजेताबीच पहिलो सेमिफाइनल खेल हुँदा दोस्रोमा समूह बी र समूह डी को विजेताबीच सेमिफाइनलमा भिडन्त हुनेछ ।

मंसिर १८ गते प्लेट च्याम्पियनसिपको फाइनल भिडन्त हुनेछ । प्लेट च्याम्पियनसिपको विजेता टोली इलाइट च्याम्पियनसिपका लागि छनौट हुनेछ ।

गत संस्करणमा सेमिफाइनल पुगेका चार टोली र यो वर्षको प्लेट च्याम्पियनसिपको विजेता टिमबीच इलाइट च्याम्पियनसिप हुनेछ ।

निङलाशैनी क्रिकेट क्लब,दशरथचन्द क्रिकेट एकेडेमी, त्रिपुरा क्रिकेट क्लब र एनआरवाईसी टिम गत वर्ष सेमिफाइनलमा पुगेका थिए ।

मंसिर २० गतेदेखि सुरू हुने इलाइट च्याम्पियनसिपको पहिलो खेलमा त्रिपुरा र प्लेट च्याम्पियनबीच भिडन्त हुनेछ।

मंसिर २१ गते एकेडेमी र निङलाशैनी,मंसिर २२ गते एनआरवाइसी र त्रिपुरा,मंसिर २३ गते एकेडेमी र प्लेट च्याम्पियन , मंसिर २४ गते एनआरवाइसी र निङलाशैनी,मंसिर २५ गते त्रिपुरा र एकेडेमी प्रतिस्पर्धा गर्नेछन् ।

यस्तै मंसिर २६ प्लेट च्याम्पियन र एनआरवाइसी,मंसिर २७ गते त्रिपुरा र निङलाशैनी,मंसिर २८ गते एनआरवाइसी र एकेडेमी ,मंसिर २९ गते निङलाशैनी र प्लेट च्याम्पियनबीच प्रतिस्पर्धा हुनेछ।
प्रतियोगिताका शिर्ष दुई टोली मंसिर ३० गते उपाधिका लागि भिड्नेछन् ।

प्रतियोगिताका सम्पूर्ण खेलहरू दशरथचन्द क्रिकेटमैदान सुन्दरखालीमा सञ्चालन हुने बैतडी जिल्ला क्रिकेट संघका अध्यक्ष विनोदबहादुर चन्दले जानकारी दिनुभयो ।

यो प्रतियोगिता पहिलोपटक टर्फ पिचमा हुनेछ । बैतडी जिल्ला क्रिकेट संघले गत वर्षदेखि ओडिआई फरम्याटमा प्रतियोगिता सञ्चालन गरिरहेको छ ।

प्रतियोगिताको प्रथम पुरस्कार १ लाख,द्वितीय पुरस्कार ५० हजार र प्लेट च्याम्पियन हुने टोलीलाई २५ हजार, म्यान अफ द सिरिजलाई १५ हजार पुरस्कार दिइनेछ । प्रतियोगिताको मुख्य प्रायोजक रोयल मल्टिलुक कन्सर्न (रेडियन्ट ग्याँस) रहेको छ।
यस्तै प्रायाेजकमा पेप्सी, लिटिल बुद्ध एकेडेमी,नवजीवन सहकारी,पद्मा हस्पिटल र जिल्लाका दशवटै पालिकाहरूले सहप्रायाेजन गरेका छन्।

थप सहयोगका लागि अन्य संघसंस्था र सरोकारवालाहरूमा आग्रह गरिएको छ।

गत वर्ष सम्पन्न २० औं संस्करणको बिडिसिए कप जिल्लास्तरीय एकदिवसीय क्रिकेट प्रतियोगिताको उपाधि निङलाशैनी क्रिकेट क्लबले जितेको थियो।

खेलाडीहरू उत्पादन र क्षमता अभिबृद्धिका जिल्लास्तरबाटै प्लेट र इलाइट च्याम्पियनसिपको आयोजना गरिएको नेपाल क्रिकेट संघ क्यानका अध्यक्ष चतुरबहादुर चन्दले बताउनुभयो।

Leave A Reply

Your email address will not be published.

error: Content is protected !!