बैतडी: बैतडीको सिगास गाउँपालिकाको केन्द्र जोड्ने सडक अबको पाँच बर्षभित्र कालोपत्रे हुने भएको छ । श्रीभावर–दोगाड–लेक–गर्जे सडकलाई कालोपत्रे गर्न त्रिपक्षीय सम्झौता भएको हो ।
विश्व बैंक र नेपाल सरकारबीच भएको सम्झौता अनुसार प्रादेशिक तथा स्थानीय सडक सुधार कार्यक्रम अन्तर्गत उक्त सडकलाई कालोपत्रे गरिने सिगास गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रघुनाथ अवस्थीले बताउनुभयो ।
सडक कालोपत्रे गर्ने कामलाई अघि बढाउन त्रिपक्षीय सम्झौता भएको छ । संघीय सरकार, प्रदेश सरकार र गाउँपालिकाबीच सडक निर्माण कार्यलाई अघि बढाउन त्रिपक्षीय सम्झौता भएको हो ।
सम्झौता भएसंगै सिगास गाउँपालिकाको केन्द्र जोड्ने सडकलाई कालोपत्रे गर्ने काम अघि बढ्ने सिगास गाउँपालिकाका अध्यक्ष हरिसिंह धामीले बताउनुभयो । श्रीभावर–दोगाड–लेक–गर्जे सडकको ट्रयाक गाउँपालिकाको केन्द्रसम्मै खोलिसकिएको छ । उक्त सडकलाई स्तरोन्नतीसहित कालोपत्रे गर्नका लागि सम्झौता भएको र सोही अनुसार काम अघि बढ्ने जनाएको छ।
उक्त सडकलाई कालोपत्रे गर्नका लागि डिपिआर बनाउने काम भइरहेको र वातावरणीय प्रभाव मूल्यांकंनको काम पनि अघि बढ्ने प्रमुख प्रशासकीय अधिकृत अवस्थीले बताउनुभयो ।
नेपाल सरकार र विश्व बैंकबीच पालिकाको केन्द्रमा सडक नपुगेका पालिकाका केन्द्रहरुमा सडक पुर्याउने सहमति अनुसार यो सम्झौता भएको हो । यसको कार्यान्वयन प्रदेश सरकारले गर्नेछ ।
यस्तै सडक निर्माणका लागि सामाजिक वातावरण र अन्य कामहरुमा गाउँपालिकाले समेत सहजीकरण गर्ने अध्यक्ष धामीले बताउनुभयो ।
सिगास गाउँपालिकाको केन्द्रसम्म पक्की सडक निर्माण भएमा स्थानीयहरुले सहज हुने विश्वास गरिएको छ । हाल सिगास गाउँपालिका केन्द्र गर्जेसम्म कच्ची सडक मात्रै पुगेको छ ।
जिल्लाको दुर्गम गाउँपालिकाका रुपमा रहेको सिगासमा सडक कालोपत्र हुने भएपछि सहज रुपमा यातायाताको पहुँच पनि पुग्नेछ ।
