बैतडी: जिल्ला अस्पताल बैतडीका चिकित्सक र स्वास्थ्यकर्मी आन्दाेलित भएका छन् । नौँ महिनादेखि अतिरिक्त सेवा र विदाको दिन सेवा गरेवाफतको रकम भुक्तानी नपाएकाे अस्पतालका चिकित्सक र स्वास्थ्यकर्मी आन्दाेलित भएका हुन्।
सुदूरपश्चिम प्रदेश सामाजिक विकास मन्त्रालयलाई पटक-पटक पत्राचार गर्दा समेत चासो नदेखाएकाले दाबाव स्वरुप डाक्टरहरुले आज (आइतबार) देखि आकस्मिक बाहेकका सेवा बन्द गर्दै आन्दोलनमा उत्रिएका हुन् ।
महिनाै हुँदा सकेत आफूहरूले काम गरेकाे भुक्तानी नपाउँदा बाध्य भएर आन्दाेलित हुनुपरेकाे अस्पताल बैतडीका डाक्टर हरीषचन्द्र विष्टले बताउनुभयो । उहाँले भन्नुभयाे,” आफुहरु विरामीको सेवामा अहोरात्र खटिदा समेत मन्त्रालयले आफुहरुको रकम भुक्तानी गरेकाे छैन्।”
विगत ९ महिनादेखि अतिरिक्त भत्ता, सार्वजनिक बिदामा काम गरे बाफतको भत्ता र प्रयोगशालामा काम गरेको बाफतको जोखिम भत्ताको रकम भुक्तानी नदिएको विरोधमा आन्दोलनरत चिकित्सक आइतबारदेखि सेवा ठप्प पारेका हुन् । उनीहरुले पाउनुपर्ने भत्ता रकम ९६ घण्टाभित्र भुक्तानी नभएमा आकस्मिकबाहेकका सेवा दिन असमर्थ रहने भन्दै अल्टिमेटम दिएका थिए ।
बुधबार दिएको आन्दोलनको ९६ घण्टे अल्टिमेटम शनिबार सकिएको थियो । सुदूरपश्चिम प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयलाई गत पुसदेखि भत्ता रकम निकासाका लागि बारम्बार पत्राचार गर्दा पनि कुनै सुनवाइ नभएको चिकित्सक तथा स्वास्थ्यकर्मीहरुको आरोप छ ।
डाक्टर बाहेक जिल्ला अस्पतालका अन्य कर्मचारीहरुले समेत अतिरिक्त सेवा वाफतको रकम पाउन नसकेको जिल्ला अस्पताल बैतडीका डाक्टर धिरज जैसवालले बताउनुभयो । उहाँले भन्नुभयो,”हामीले विगतदेखिनै आफुहरुको रकम भुक्तानीका लागि माग गरेका हौँ तर मन्त्रालयले उक्त माग सम्बोधन गरेन् । बाध्य भएर आन्दोलन गर्नु पुगेका छाैं।”
आफुहरुको माग पुरा नभएसम्म ओपिडी सेवा संचालन नगर्ने डाक्टर तथा कर्मचारीहरुको अडान छ ।
जिल्ला अस्पतालका अख्तियार प्राप्त मेडिकल सुपरिडेन्ट र अस्पताल व्यवस्थापन समिति अध्यक्ष सोही समस्या समाधानका लागि मन्त्रालयमा धाइरहेका छन् तर मन्त्रालयकाे भने बैतडी अस्पतालको समस्या समाधानतर्फ ध्यान जान सकेकाे छैन् ।
मन्त्रालयको पटक–पटक ध्यानाकर्षण गराउँदा समेत समस्या समाधान नभएकाले आफुहरु धनगढीमै रहेको जिल्ला अस्पताल व्यवस्थापन समिति अध्यक्ष पार्वती भट्टले बताउनुभयो ।
डाक्टर तथा अस्पतालका कर्मचारीहरुको टोलीले जिल्ला प्रशासन कार्यालयको समेत ध्यानाकर्षण गराएका छन् । यसबारेमा प्रमुख जिल्ला अधिकारी भीमकान्त शर्माले नागरिकहरुलाई अप्ठ्यारो हुने काम नगर्न चिकित्सकहरुलाई सुझाउनुभएकाे छ। उहाँले भन्नुभयो,” तपाईहरुका मागको बारेमा सम्बन्धित निकायमा कुरा भइसकेको छ, समस्या समाधान होला, बिरामीहरुलाई मर्का पर्ने काम गर्नु भएन् ।”
बैतडी जिल्ला अस्पतालमा ११ जना चिकित्सक कार्यरत छन् । स्वास्थ्य सेवा नियमावलीअनुसार सातामा ४० घण्टाभन्दा बढी काम गरेमा र सार्वजनिक बिदामा काम गरेको अवस्थामा अतिरिक्त भत्ता पाउने व्यवस्था छ । मेडिकल अधिकृतको हकमा सम्बन्धितले पाउने मासिक तलबअनुसार ८ घण्टा अतिरिक्त काम गरेमा दैनिक १ हजार ६ सय भत्ता दिने व्यवस्था रहेको छ ।
यसैबीच जिल्ला अस्पताल बैतडीका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा. हरिशचन्द्र बिष्टले आफू जिम्मेवारीबाट अलग भएको घोषणा गर्नुभएकाे छ। चिकित्सक तथा स्वास्थ्यकर्मीहरुले गरेको आन्दोलनमा समर्थन जनाउँदै भोको पेटमा काम गराउन नसक्ने भन्दै उनले निमित्त मेसुको जिम्मेवारी छोड्नुभएकाे हाे।
जिल्ला अस्पताल बैतडीका मेसु डा.सुशील विकले वैशाख २० गते उनलाई निमित्त दिएर जिल्ला बाहिर रहनुभएकाे छ।
बैतडी जिल्ला अस्पतालमा ११ जना चिकित्सक कार्यरत छन् । स्वास्थ्य सेवा नियमावलीअनुसार सातामा ४० घण्टाभन्दा बढी काम गरेमा र सार्वजनिक बिदामा काम गरेको अवस्थामा अतिरिक्त भत्ता पाउने व्यवस्था छ । मेडिकल अधिकृतको हकमा सम्बन्धितले पाउने मासिक तलबअनुसार ८ घण्टा अतिरिक्त काम गरेमा दैनिक १ हजार ६ सय भत्ता दिने व्यवस्था रहेको छ ।
अस्पतालको सेवा प्रभावित हुने भएपछि यहाँका विरामी तथा सेवाग्राहीहरुलाई समेत समस्या हुने देखिएको छ ।
