नेपालद्वारा कुवेतलाई विशाल लक्ष्य,पूजाकाे कीर्तिमानी शतक

काठमाडौं:युएईमा जारी महिला यु १९ टि ट्वान्टी विश्व कप छनाैटमा कप्तान पूजा महतोले कीर्तिमानी शतकमा नेपालले कुवेतलाई विशाल लक्ष्य दिएको छ ।

युएईको अजमानमा जारी खेलमा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा २ विकेट गुमाएर २ सय १३ रनको विशाल योगफल तयार गर्यो ।

प्रतियोगिताको इतिहासमा नै पहिलो शतक बनाएकी पूजाले ६९ बलमा १७ चौकाको सहयोगमा नट आउट १ सय ३० रन बनाइन् । प्रतियोगिताको दोस्रो संस्करण जारी रहँदा पहिलो शतक बनेको हो ।

यसअघि प्रतियोगिताको सर्वाधिक व्यक्तिगत स्कोरमा गत आइतवार कुवेतविरुद्ध नै युएईकी लाभन्या केन्याले ९९ रन बनाएकी थिईन् । पूजाले ५७ बलमा १२ चौकाको सहयोगमा शतक पूरा गरिन् ।

पूजाको शतक नेपाली महिला टोलीका लागि अन्तर्राष्ट्रिय खेलमा बनेको दोस्रो शतक हो । गत फेब्रवरीमा मलेसियामा भएको एसिसी प्रिमियर कपमा रुबिना क्षेत्रीले माल्दिभ्सविरुद्ध पहिलो शतक बनाएकी थिईन् । यू १९ महिला क्रिकेटमा भने यो नै पहिलो शतक हो ।

पूजाले नेपाली महिला क्रिकेटको एकै खेलमा बनेको सर्वाधिक रन समेत हो । रुबिनाले सोहि खेलमा ५९ बलमा १ सय १८ रन बनाएकी थिइन् ।

सोनी पाख्रिनले ३३ बलमा २ चौकाको सहयोगमा ४३ रन जोडिन् । सावित्री धामीले ११ तथा साना प्रविनले ६ रन जोडिन् । कुवेतका लागि कप्तान जिफा जिलानी र मारिना डि सोजाले समान १ विकेट लिए ।

Leave A Reply

Your email address will not be published.

error: Content is protected !!